आइतबारदेखि सुर्खेतका सामुदायिक तथा निजी विद्यालय खुल्ने भएका छन् । शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिले लामो समयदेखि बन्द भएका विद्यालय आइतबारदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।
कोरोनाको जोखिम नरहेका क्षेत्रमा भदौ २२ गतेदेखि र अन्य ठाउँमा २६ गतेसम्ममा विद्यालय खोल्ने निर्णय गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
विद्यालय खोल्दा तोकिएका स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्नुपर्ने उनले बताए । विद्यालय सुरक्षा मापदण्ड पालन गरे–नगरेको अनुगमनका लागि सम्बन्धित पालिकाको शिक्षा शाखाले विशेष समिति समेत बनाउनेछ ।
उक्त समितिमा पालिकाको शिक्षा शाखा, शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सनका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।
सुर्खेतका नौ मध्ये ६ वटा स्थानीय तह स्मार्ट लकडाउन कार्यविधि अनुसार ‘ग्रीन जोन’मा परेको र त्यहाँ भौतिक रुपमा विद्यालय खुलाउन सकिनेछ ।
वीरेन्द्रनगर नगरपालिका ‘रेडजोन’मा र भेरीगंगा तथा गुर्भाकोट नगरपालिका ‘एल्लोजोन’मा छन् ।