१७ भदौ सुर्खेत ।

देशका विभिन्न जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले सुर्खेतको पञ्चपुरी नगरपालिका–५, बाबियाचौरस्थित गोल्डेन फ्युचर एकेडेमीले आर्थिक सहयोग गरेको छ ।
यही मिति २०८३ साल भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोटलगायतका जिल्लाका बाढीपीडित नागरिकहरूको सहयोगका लागि विद्यालयले रु. ३० हजार ३ सय ६० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो।
विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा सम्पूर्ण कर्मचारीहरूको सहयोग र सहभागिताबाट उक्त रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ। प्राकृतिक विपद्का कारण घरबारविहीन तथा पीडित बनेका नागरिकहरूको दुःखमा थोरै भए पनि साथ र सहयोग पुर्याउने उद्देश्यले राहत रकम संकलन गरिएको विद्यालयको भनाइ छ।
गोल्डेन फ्युचर एकेडेमीका प्रिन्सिपल तारा प्रकाश कडेलले प्राकृतिक विपद्को समयमा सम्पूर्ण नेपाली एकजुट भएर पीडितहरूको सहयोगमा जुट्नुपर्ने बताए। विद्यालय केवल किताबी ज्ञान दिने थलो मात्र नभई विद्यार्थीहरूमा मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सहयोगी भावना विकास गर्ने महत्वपूर्ण संस्था भएको उनको भनाइ छ।
प्रिन्सिपल कडेलले भने, “रसुवा, नुवाकोटलगायतका जिल्लामा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको खबरले हामी सबैलाई अत्यन्त दुःखी बनाएको छ। यस्तो कठिन परिस्थितिमा बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीहरूको पीडामा साथ दिनु हामी सबैको सामाजिक र मानवीय दायित्व हो। यही भावनालाई आत्मसात् गर्दै हाम्रा विद्यार्थी, शिक्षक तथा सम्पूर्ण विद्यालय परिवारको सहभागितामा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेका छौँ।”
उनले विद्यालय परिवारबाट संकलन भएको रकम ठूलो नभए पनि पीडितप्रति ऐक्यबद्धता र सहयोगको भावना महत्वपूर्ण रहेको बताए। “हामीले गरेको यो सानो प्रयासले बाढीपीडितहरूको जीवनमा थोरै भए पनि राहत पुग्नेछ भन्ने विश्वास लिएका छौँ,” प्रिन्सिपल कडेलले भने ।
उनका अनुसार विद्यार्थीहरूलाई सानै उमेरदेखि समाजप्रति जिम्मेवार, सहयोगी र मानवीय भावना भएका असल नागरिकका रूपमा विकास गराउन यस्ता सामाजिक तथा मानवीय कार्यमा सहभागी गराउनु आवश्यक छ। विपद्को समयमा एकअर्कालाई सहयोग गर्नु नै नेपाली समाजको मौलिक विशेषता रहेको बताउँदै उनले पीडितहरूको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा सबै क्षेत्रबाट सहयोग हुनुपर्नेमा जोड दिए।
विद्यालय परिवारले विनाशकारी बाढीमा परी ज्यान गुमाउने सम्पूर्ण व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै बाढीबाट प्रभावित सम्पूर्ण नागरिकको पीडा र दुःखप्रति विद्यालय परिवारले गहिरो दुःख व्यक्त गरेको जनाएको छ।
प्राकृतिक विपद्ले निम्त्याएको यस दुःखद घडीमा सरकारी तथा गैरसरकारी निकाय, विभिन्न संघसंस्था, शैक्षिक प्रतिष्ठान र आमनागरिक एकजुट भई प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्नुपर्ने आवश्यकता रहेको विद्यालयले जनाएको छ।













