११ मङ्सिर सुर्खेत

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत सुर्खेतको चौकुने गाउँपालिका–५, मायातालमा महिला सञ्जाल तथा अभिभावक समूहका सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
अभिभावक समूहका अध्यक्ष दुर्गा थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चौकुने गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष तुलाराम हिस्की मगर प्रमुख अतिथि तथा गाउँपालिकाका उपाध्यक्ष नरबहादुर बान्तोला विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा समुदायका अगुवा, अभिभावक समूह तथा महिला सञ्जालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको इतिहास र महत्व, विश्व तथा नेपालमा अभियान मनाउने अभ्यास, समुदायस्तरमा विद्यमान लैङ्गिक हिंसाको अवस्था, हिंसाका कारण तथा न्यूनीकरणका उपायबारे छलफल गरिएको थियो।
त्यसैगरी स्थानीय सरकार तथा समुदायका अगुवाहरूले सबै प्रकारका हिंसा अन्त्य गर्न खेल्नुपर्ने भूमिका र लैङ्गिक हिंसासम्बन्धी विद्यमान कानुन तथा नीतिका विषयमा वातावरणीय कृषि तथा विकास केन्द्र (केड), सुर्खेतका कार्यक्रम संयोजक अनुप नेपालीले सहजीकरण गर्नुभएको थियो।
अन्तरक्रियामा सहभागीहरूले आफ्नो गाउँटोलमा सबै प्रकारका हिंसा अन्त्य गरी सुरक्षित समाज निर्माणका लागि भइरहेका प्रयासबारे अनुभव आदानप्रदान गरेका थिए। उनीहरूले परम्परागत कुरीति र कुसंस्कारका कारण अझै पनि बालविवाह तथा छाउपडी प्रथा अन्त्य गर्न चुनौती रहेको औँल्याउँदै यसको अन्त्यका लागि समुदाय, स्थानीय सरकार, विद्यालय, महिला सञ्जाल तथा विभिन्न संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताएका थिए।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष नरबहादुर बान्तोलाले समाजमा विद्यमान कुरीति र कुसंस्कारले महिलालाई बढी असर पारिरहेको र यसले महिलाको समग्र विकासमा अवरोध सिर्जना गरेको बताउनुभयो। यस्ता कुरीति अन्त्य गर्न समुदायलाई जागरुक बनाउँदै विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। यसका लागि गाउँपालिकाले समुदाय, विद्यालय, सञ्जाल तथा संघसंस्थासँग समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
त्यसैगरी वडा नं. ५ का वडाध्यक्ष तुलाराम हिस्की मगरले हिंसारहित समाज निर्माणका लागि सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले वडालाई हिंसारहित तथा नमुना वडाका रूपमा स्थापित गर्न सबैको सक्रिय भूमिका हुनुपर्नेमा जोड दिनुभयो।
यस वर्ष चौकुने गाउँपालिकाले विभिन्न संघसंस्थासँगको साझेदारीमा मंसिर ९ गतेदेखि २४ गतेसम्म समुदाय तथा विद्यालयस्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरी १६ दिने अभियान मनाउने योजना बनाएको छ।
त्यस्तै वातावरणीय कृषि तथा विकास केन्द्र (केड) ले पनि स्थानीय सरकार, विद्यालय तथा विभिन्न सञ्जालसँगको साझेदारीमा समुदाय र विद्यालयस्तरमा अन्तरक्रिया, वक्तृत्वकला प्रतियोगितालगायतका सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने केडकी कार्यक्रम सुपरभाइजर निर्मला कुमारी शाहीले जानकारी दिनुभयो।
कार्यक्रमले समुदायस्तरमा लैङ्गिक हिंसा, बालविवाह, छाउपडी प्रथा तथा अन्य सामाजिक कुरीति अन्त्यका लागि सामूहिक पहल र सहकार्यको आवश्यकता औँल्याएको छ।













