२३ कार्तिक सुर्खेत ।

पञ्चपुरी नगरपालिका–५ बाबियाचौरमा सञ्चालन भएको तेस्रो चिसापानी कप २०८३ वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ। चिसापानी युवा क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा ११ वटा टिमको सहभागिता रहेको थियो।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै पञ्चपुरी–११ प्रथम हुन सफल भएको छ भने पञ्चपुरी–७ दोस्रो भएको छ। विजेता पञ्चपुरी–११ ले नगद ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै उपविजेता पञ्चपुरी–७ ले नगद २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ।
प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालवीर भण्डारीले खेलकुदले युवाहरूमा अनुशासन, एकता र आपसी सद्भाव बढाउनुका साथै स्थानीय प्रतिभाको पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस्ता खेलकुद प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका अध्यक्ष तथा चिसापानी युवा क्लबका अध्यक्ष केशव ओडले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी, खेलाडी, रेफ्री तथा दर्शकप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि खेलकुद गतिविधिलाई निरन्तरता दिने बताउनुभयो।
त्यसैगरी पञ्चपुरी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नगेन्द्रबहादुर शाहीले वडास्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले खेलाडीको क्षमता विकाससँगै युवाहरूलाई सकारात्मक गतिविधिमा जोड्न सहयोग पुग्ने बताउँदै खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास, युवाबीच आपसी सम्बन्ध र भाइचाराको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
कार्यक्रममा जनप्रतिनिधि, खेलप्रेमी, स्थानीयवासी, खेलाडी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।













