सुर्खेत।

छैटौँ बाबियाचौर च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि आयोजक बाबियाचौर स्पोर्ट्स क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा एलएफसी पलाइटेलाई पराजित गर्दै बाबियाचौर स्पोर्ट्स क्लबले उपाधि हात पारेको हो।
फाइनल खेलमा बाबियाचौर स्पोर्ट्स क्लबले दुई गोल गर्दै उपाधि आफ्नो पक्षमा पारेको थियो। प्रतियोगिताको विजेता बाबियाचौर स्पोर्ट्स क्लबले नगद ४ लाख १ हजार ५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता एलएफसी पलाइटेले नगद २ लाख १ हजार ५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
१४ वटा टिमको सहभागिता रहेको प्रतियोगिताले स्थानीय खेलकुदको विकास र खेलाडीको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।
प्रतियोगिताको समापन कार्यक्रममा नगर प्रमुख लालवीर भण्डारीले खेलकुदले युवालाई अनुशासित, सिर्जनशील र स्वस्थ बनाउन सहयोग पुर्याउने बताउँदै स्थानीय स्तरमा यस्ता प्रतियोगिताको निरन्तरता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
त्यस्तै, बाबियाचौर स्पोर्ट्स क्लबका अध्यक्ष कृष्ण रावलको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्रतियोगिता सफल बनाउन सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो।
कार्यक्रममा जनप्रतिनिधि, खेलप्रेमी, समाजसेवी, स्थानीयवासी तथा खेलाडीहरूको सहभागिता रहेको थियो।













