असाेज ५ सुर्खेत

पञ्चपुरी नगरपालिका–५, बाबियाचौरस्थित विद्याज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई नेपाल बैंक लिमिटेड र सुर्खेत गार्मेन्ट उद्योगका सञ्चालक लोकेन्द्र शाहीले शैक्षिक सामग्री तथा विद्यालय पोशाक सहयोग गरेका छन् ।
नेपाल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयका १२५ जना विद्यार्थीलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री सहयोग गरेको हो। त्यसैगरी सुर्खेत गार्मेन्ट उद्योगका सञ्चालक लोकेन्द्र शाहीले कक्षा १ देखि १२ सम्म प्रथम हुने विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरेका छन्।
कार्यक्रममा बोल्दै नेपाल बैंक लिमिटेड कर्णाली प्रदेशका प्रमुख टेकबहादुर खड्काले बैंकले वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको बताए। विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुग्ने उद्देश्यले विद्यालय पोशाक तथा शैक्षिक सामग्री प्रदान गरिएको उनको भनाइ थियो । यस्ता सहयोगले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययनमा थप हौसला मिल्ने उनले बताए।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोकेन्द्र रावलले विद्यार्थीको शैक्षिक प्रगतिका लागि प्राप्त सहयोग महत्वपूर्ण रहेको बताए । विद्यालयमा अध्ययनरत विद्यार्थीको क्षमता विकास र शैक्षिक वातावरण सुधार गर्न विभिन्न क्षेत्रबाट प्राप्त सहयोगले थप ऊर्जा प्रदान गर्ने उनको भनाइ थियो।
त्यस्तै विद्यालयका प्रधानाध्यापक द्रोणराज पाठकले विद्यार्थीको अध्ययनप्रतिको रुचि र उत्साह बढाउन यस्ता सहयोग प्रभावकारी हुने बताए। विद्यालयका उत्कृष्ट तथा आवश्यकतामा रहेका विद्यार्थीलाई लक्षित गरी गरिएको सहयोगका लागि नेपाल बैंक लिमिटेड र सुर्खेत गार्मेन्ट उद्योगप्रति उनले आभार व्यक्त गरे।

सुर्खेत गार्मेन्ट उद्योगका सञ्चालक लोकेन्द्र शाहीले पनि विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले कक्षा १ देखि १२ सम्म प्रथम हुने विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको बताए। विद्यार्थीको मेहनत र उत्कृष्ट नतिजालाई सम्मान गर्दै आगामी दिनमा पनि शिक्षा क्षेत्रमा सहयोग गर्ने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
विद्यालय परिवारले सहयोगी संस्था तथा व्यक्तिलाई धन्यवाद दिँदै आगामी दिनमा पनि विद्यार्थीको शैक्षिक विकासमा यस्तै सहयोग र सहकार्यको अपेक्षा गरेको जनाएको छ।













