डोल्पा । भाइतिहार सकिएको दुई महिनापछि शुक्रबार कर्णालीवासीले ‘छोरा’ तिहार पनि मनाएका छन् । नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयाका दिन कर्णाली प्रदेशका जुम्ला डोल्पालगायतका जिल्लाका सर्वसाधारणले धुमधामका साथ मनाएका हुन् ।
भाइटीकाजस्तै छोरा तिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता, गलामा माला र सगुनको रूपमा घरमै बनाइएको सेलरोटी, फिनीरोटी, चिनीरोटीजस्ता परिकारसहित छोरालाई टीका लगाउने प्रचलन छ ।
टीकासँगै छोरालाई दीर्घायु र प्रगतिको कामना गर्दै आशीर्वाद दिने गरिन्छ । छोराले पनि आमालाई दक्षिणाको रूपमा आफूसक्दो पैसा, धोती चोलीलगायतका कोसेली दिएर टीका थाप्ने गरिन्छ । आमाको हातबाट टीका थाप्नका लागि जिल्ला बाहिर पुगेका छोरा पनि आजको दिन घर पुग्ने गर्दछन् । कुनै काम विशेषले घर पुग्न नसक्ने छोराले टेलिफोनबाटै भए पनि आशीर्वाद लिने र आमाले पनि छोराका लागि बनाएको कोसेली छुट्याएर राखिदिने गरिन्छ ।
आजको दिनमा महिला पनि सार्वजानिकस्थलमा भेला भएर चुट्किला देउडा खेलेर रमाइलो गर्ने र एकअर्काको पिरव्यथा साटासाट गर्ने गरिन्छ । भाइ तिहारमा खेलिनेलाई देउसी र छोरा तिहारमा खेलिनेलाई भैलो भनेर भनिने उनले बताए । यो भैलो तिहारको देउसीभन्दा फरक ढङ्गबाट र फरक लयमा खेलिने गर्दछ ।