राजनीतिक दलका नेताहरुले वैशाख १४ गतेभित्रै पालिकाको चुनाव सम्पन्न हुने गरी मिति घोषणा गर्न सरकारलाई आग्रह गरेका छन् ।
राष्ट्रिय सभा चुनाव, मतदाता नामावली र पालिकातहको चुनावबारे छलफल गर्न निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा दलका नेताहरुले आउने वैशाख १४ गतेभित्रै पालिकाको चुनाव सम्पन्न हुने गरी मिति घोषणा गर्न ढिलाइ नगर्न सरकारलाई आग्रह गरेका हुन् ।
निर्वाचन आयोगले यसअघि नै सरकारलाई जेठ ५ गतेअघि नै पालिकामा नयाँ जनप्रतिनिधिहरुले पदबहाली गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै वैशाख १४ गते एकै चरण वा दुई चरणमा गर्ने भए वैशाख १४ गते र २२ गते गर्न सरकार समक्ष प्रस्ताव गरेको थियो ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले निर्वाचन आयोगले प्रस्ताव गरेकाे पालिकाको चुनावको मितिमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताउनु भयो ।
बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल मजदुर किसान पार्टीलगायतका १५ दल सहभागी भएका थिए ।