काठमाडौं :

नेपाली कांग्रेसले क्रियाशील सदस्यता शुल्क (लेबी) अझै केन्द्रमा नबुझाएका पाँच जिल्लाका सभापतिलाई रकम दाखिला गर्न निर्देशन दिएको छ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले भदौ ३१ गते पत्र पठाउँदै बागलुङका जीत शेरचन, बझाङका खड्कबहादुर बोहरा, डोटीका नरेन्द्रबहादुर सिंह, कञ्चनपुरका पदम बोगटी र मुगुका ऐनबहादुर शाहीलाई लेबी रकम पार्टीको खातामा जम्मा गर्न आग्रह गरेका हुन्।
वडा तहबाट संकलन भएर सम्बन्धित जिल्लामा पुगिसकेको क्रियाशील सदस्यता शुल्क केन्द्रमा नपठाइएपछि कांग्रेसले यस्तो ताकेता गरेको जनाएको छ। पार्टीले राष्ट्रिय वाणिज्य बैंकमा रहेको केन्द्रीय कार्यालयको खातामा रकम जम्मा गर्न निर्देशन दिएको छ।
यसैबीच, ती जिल्लामा अधिवेशनसम्बन्धी आवश्यक तयारी अघि बढ्न नसकेपछि कांग्रेसले कार्यसमितिका अन्य पदाधिकारीलाई कार्यवाहक जिम्मेवारी दिई वडा अधिवेशनको प्रक्रिया अगाडि बढाएको छ।
कांग्रेसको निर्धारित कार्यतालिकाअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी छ।













