कांग्रेसको १५ औँ महाधिवेशन : पञ्चपुरीका ११ वटै वडामा भोलि अधिवेशन

असाेज २ सुर्खेत ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पञ्चपुरी नगरपालिकाका ११ वटै वडामा भोलि वडा अधिवेशन हुने भएको छ।
पञ्चपुरी नगरपालिकाका ११ वटै वडामा हुने वडा अधिवेशनका लागि आवश्यक तयारी पूरा भएको नेपाली कांग्रेस पञ्चपुरी नगर कार्यसमितिले जनाएको छ। वडा अधिवेशनमार्फत वडा तहको नेतृत्व चयनसँगै आगामी तहका अधिवेशनका लागि आवश्यक प्रतिनिधि छनोट गरिनेछ।
नेपाली कांग्रेस पञ्चपुरी नगर सभापति कृपाराम थापाले वडा अधिवेशनलाई आपसी सहमति, सहकार्य र लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गर्न सबै नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ। उहाँले पार्टी संगठनलाई थप मजबुत बनाउन वडा तहको अधिवेशन महत्वपूर्ण रहेको बताउनुभयो।
थापाले अधिवेशनमा सहभागी हुने क्रियाशील सदस्य तथा प्रतिनिधिहरूलाई तोकिएको स्थान र समयमा उपस्थित भई अधिवेशन सफल बनाउन सहयोग गर्नसमेत आग्रह गर्नुभएको छ।
कांग्रेसको तल्लो तहदेखि केन्द्रसम्मको अधिवेशन प्रक्रिया अघि बढेसँगै पञ्चपुरीमा पनि वडा अधिवेशनलाई लिएर पार्टीका नेता तथा कार्यकर्ताबीच सक्रियता बढेको छ।कांग्रेसले १५औँ महाधिवेशनको तयारीस्वरूप तल्लो तहदेखि केन्द्रसम्मको अधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ। परिमार्जित कार्यतालिकाअनुसार वडा अधिवेशन असोज ३ र ४ गतेमध्ये स्थानीय अनुकूलताअनुसार कुनै एक दिन गर्ने निर्णय भएको छ।
त्यसैगरी गाउँ तथा नगर अधिवेशन असोज ७ गते, प्रदेशसभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते हुने कार्यतालिका रहेको छ। जिल्ला र प्रदेश अधिवेशनको विस्तृत समयतालिका भने दोस्रो चरणमा प्रकाशित गरिने जनाइएको छ।
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने तय गरिएको छ। केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको मिति भने यथावत् राखेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search