नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद टुंगिएको छ । क्रियाशील सदस्यताकै कारण महाधिवेशन कार्यतालिका प्रभावित हुँदै आएकोमा सोमबार नेताहरुले सहमति जुटाएका हुन् ।
सोमबार साँझ पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले सदस्यता विवाद सुल्झाउँदै सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका हुन् । देउवा निवास बुढानीलकण्ठमा प्रतिवेदन बुझ्दै सभापति देउवाले महाधिवेशन निर्धारित मितिमा हुने बताए । देउवालाई प्रतिवेदन बुझाउँदा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि उपस्थित थिए ।
लेखक संयोजक रहेको क्रियाशील सदस्यता छानविन समितिले साउन १२ मा प्रतिवेदन बुझाउँदै बारा, सप्तरीसहित १३ वटा निर्वाचन क्षेत्रको विवाद सुल्झाउन पार्टीलाई सिफारिस गरेको थियो ।
कांग्रेसले भदौ १८ मा वडा अधिवेशनको मिति तय गरेको छ । स्थानीय अधिवेशन सुरु हुन ११ दिन बाँकी रहँदा नेताहरुले क्रियाशील सदस्यता विवाद टुंग्याएका हुन् । कांग्रेसले मंसिर ९–१३ सम्म १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गसिकेको छ । अधिवेशनका लागि निर्वाचन समितिले पनि काम शुरु गरिसकेको छ ।
कांग्रेसले पाँच पटक महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो । चार वर्षमा नियमित महाधिवेशन गर्नुपर्ने कांग्रेसको विधानमा उल्लेख छ । तर विधानले दिएको थप एक वर्षको सुविधा र संविधानको ६ महिनाको समय पनि गुजार्दै कांग्रेसले मंसिरमा महाधिवेशनको मिति तोकेको हो ।