२४ जेठ बाबियाचौर, सुर्खेत ।
पञ्चपुरी नगरपालिकाको आयोजनामा सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई नियमित, पारदर्शी तथा प्रभावकारी बनाउने उद्देश्यले बैंक, वडा कार्यालय र नगरपालिकाबीच दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जेष्ठ २३ र २४ गते आयोजित कार्यक्रममा सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियामा देखिएका समस्या, लाभग्राहीले भोगिरहेका कठिनाइ तथा सेवा प्रवाहलाई अझ सहज र प्रभावकारी बनाउने उपायबारे विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सम्बन्धित बैंकका प्रतिनिधि तथा वडा कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले सामाजिक सुरक्षा भत्ता समयमै र सहज रूपमा लाभग्राहीसम्म पुर्याउन आपसी समन्वय र सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका वक्ताहरूले पारदर्शी र व्यवस्थित वितरण प्रणालीमार्फत सेवाग्राहीको विश्वास बढ्ने तथा सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारिता समेत अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । पञ्चपुरी नगरपालिकाले यस्ता अन्तरक्रिया कार्यक्रममार्फत सेवा प्रवाहमा सुधार ल्याउँदै नागरिकमैत्री प्रशासनको अभ्यासलाई थप सुदृढ बनाउने जनाएको छ ।













