पञ्चपुरी ९ का किसान तरकारी खेतिमा आकर्षित हुदै,

179 पटक हेरिएको

११ बैशाख सुर्खेत ।
मिलिजुली साना किसान कृषि सहकारी संस्था पञ्चपुरी ९ सुर्खेतले कृषकहरूका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। वडा नम्बर ९ को रिङ्नेमा रहेका कृषकहरूको करिब १४० रोपनी क्षेत्रफलमा तरकारी खेती सञ्चालनमा ल्याएसँगै त्यहाँका कृषकहरूको दैनिकी फेरिएको छ । सहकारीले रिङ्गनेमा रहेका कृषकहरूलाई तरकारी पकेट क्षेत्र घोषणा गरी तरकारीको बिउ मल अनुदानमा कृषि औजार वितरण गरेको छ।

सहकारीले तरकारी पकेट क्षेत्रका किसानहरूलाई आवश्यक तालिम तथा परामर्श दिँदै आएको छ। सहकारीका अध्यक्ष दिलकुमारी पौडेलले कृषकहरूले उत्पादन गरेका तरकारीहरू सुर्खेत लगायत आसपासका पालिकाहरूमा बिक्री हुने गरेको बताउनुभएको छ। साथै उहाँले नगरपालिकाले तरकारी पकेट क्षेत्र घोषणा गरेर गरेको सहयोग ले उपलब्धि हासिल गरेको बताउनुभयो। आगामी दिनमा थप कार्यक्रम अगाडि लैजानको लागि स्थानीय सरकारको साथ आवश्यक रहेको समेत बताउनुभयो । अनुगमनका क्रममा पञ्चपुरी नगरपालिकाको जनप्रतिनिधि सहितको टिमलाई स्थानीय कृषकहरूले तरकारी खेती राम्रो भएको र यसलाई बजारीकरण गर्न आवश्यक रहेको बताएका छन्। त्यसैगरी स्थानीय कृषक तथा भगवती प्रावी लाटीकाँडाका शिक्षक धर्मराज सिग्देलले कृषकले उत्पादन गरेको तरकारीले उचित मूल्य नपाएको दुखेसो गर्नुभयो। साथै सिग्देलले बाहिरबाट आउने तरकारीलाई विस्थापित गर्दै स्थानीय तरकारीलाई प्रोत्साहन गर्न सकेमा तरकारीबाट राम्रो फाइदा हुने बताउनुभयो।
अनुगमनका क्रममा कृषि विकास शाखा बाबियाचौरका प्रमुख गौरव बन्जाडेले कृषकहरूको लागि गरेको सहयोग उपलब्धिमूलक भएकोमा खुसी व्यक्त गर्नुभएको छ। साथै उहाँले आगामी दिनमा थप कार्यक्रम ल्याउनको लागि पहल गर्ने समेत बताउनुभयो ।
कार्यक्रममा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष पूर्णप्रसाद घिमिरेलेले वडाभित्र रहेका विभिन्न क्षेत्रलाई तरकारी पकेट क्षेत्र को रुपमा विस्तार गर्न नगरपालिकालाई आग्रह गर्नुभएको छ। त्यसैगरी कार्यक्रममा पञ्चपुरी नगरपालिका उपप्रमुख मुक्ति रेग्मीले सहकारीले गरेको काम र कृषकहरूले उत्पादन गरेको तरकारी देख्दा खुसी लागेको बताउनुभयो। साथै उहाँले आगामी दिनमा यसलाई बजारीकरण गर्नको लागि नगरपालिकाको तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
त्यस्तै कार्यक्रममा पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले कृषकहरूको लागि नगरपालिकाले विशेष कार्यक्रम सञ्चालन गरेको बताउँदै आगामी दिनमा पञ्चपुरी नगरपालिकामा विभिन्न खाद्यान्नको बिउ उत्पादनका लागि पहल गर्ने बताउनुभयो। विभिन्न क्षेत्रमा तरकारी फलफुल तथा खाद्यान्न पकेट क्षेत्र स्थापना गरी कृषिमा आत्मनिर्भर गराउनको लागि थप कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ रहेको छ।
सहकारीले कृषकहरूलाई मेनी टेलर, तराजु लगायत विभिन्न औजार वितरण गर्दै आएको छ। कृषकहरूले हाल लौका काँक्रा तरबुजा खुर्सानी तिते करेला लगायतका तरकारीहरू उत्पादन गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...