१४ वैशाख, सुर्खेत

सोमबार (आज) देखि ७७ वटै जिल्लामा सञ्चालन हुने कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी सहभागी हुँदैछन् । २०७९ यताका विद्यार्थी आंशिक परीक्षामा सहभागी हुनेछन् । जापानको एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थीले परीक्षा दिँदैछन्। गत वर्षभन्दा परीक्षार्थीको संख्या घटेपछि परीक्षा केन्द्रको संख्या पनि कम भएको परीक्षा नियन्त्रण कृष्णप्रसाद शर्माले जानकारी दिए ।
यस वर्ष १ हजार ४ सय २१ वटा परीक्षा केन्द्र तोकिएको छ। गत वर्ष ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी थिए। उक्त परीक्षाको नतिजा गत साउनमा प्रकाशित हुँदा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।नतिजामा ९ प्रतिशतले सुधार देखिएको थियो । नियममित र ग्रेडवृद्धि परीक्षाको नतिजामा पनि अघिल्ला वर्षहरूभन्दा सुधार देखिएकाले आंशिकतर्फ विद्यार्थी संख्या घटेकाले यस वर्ष समग्र विद्यार्थी संख्या घटेको देखिएको हो ।
उत्तरपुस्तिकासहित परीक्षा सामग्री परीक्षा केन्द्रहरूमा पठाइएको परीक्षा नियन्त्रक शर्माले बताए । प्रश्नपत्र भने कोभिड महामारीदेखि नै अनलाइनबाट पठाउन थालिएको छ । परीक्षा सञ्चालन हुने दिन नै बोर्डले परीक्षा केन्द्रहरुमा अनलाइनबाट पठाएको प्रश्नपत्र प्रिन्ट गरेर परीक्षार्थीलाई वितरण गर्ने व्यवस्था छ।
केन्द्राध्यक्षसहित केन्द्रमा खटिने प्रहरीको रोहबरमा प्रश्नपत्र प्रिन्ट गरी वितरण गरिन्छ । वैशाख २७ गते कक्षा १२ को परीक्षा सकिने समयतालिका छ । उत्तरपुस्तिका परीक्षण गत वर्षजस्तै बोर्डले तोकेको परीक्षण केन्द्रमा गरिने शर्माले बताए । यसरी उत्तरपुस्तिका परीक्षा गर्दा ३ महिनाभित्र नतिजा प्रकाशन हुदैं आएको छ।
कक्षा १० (एसईई)को उत्तरपुस्तिका भने यसवर्ष देखि परीक्षा केन्द्रमै परीक्षण गरेर १ महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयले एसईईको उत्तरपुस्तिका परीक्षण सकेर प्राप्तांक इन्ट्री र रुजुको काम भइरहेको जनाएको छ । वैशाख मसान्तसम्म एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको लक्ष्य छ।
कक्षा १२ को परीक्षा सहभागी हुने विद्यार्थी परीक्षा सुरू हुनुभन्दा आधा घण्टाअघि नै परीक्षा केन्द्रमा पुग्नुपर्ने बोर्डले जनाएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म देशभरका परीक्षा केन्द्रमा एकै समयमा परीक्षा सञ्चालन हुने समयतालिकामा उल्लेख छ ।
परीक्षा सुरू भएको १५ मिनेटपश्चात उपस्थित हुने परीक्षार्थीलाई परीक्षामा सहभागी गराइने छैन,’ समयतालिकामा भनिएको छ । परीक्षार्थीलाई परीक्षा केन्द्र परिवर्तन गरेर सहभागी हुन रोक लगाइएको छ। मोबाइल फोन, स्मार्ट घडीलगायत अन्य इलेक्ट्रोनिक्स डिभाइस परीक्षा हलमा लैजान निषेध गरिएको बोर्डले जनाएको छ ।
परीक्षा समयतालिकाअनुसार नियमित विद्यार्थीलाई लागि पहिलो दिन वैशाख १४ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ । १५ गते अनिवार्य नेपाली, १७ गते सामाजिक अध्यक्ष तथा जीवनउपयोगी शिक्षा र त्यसपछि ऐच्छिक विषयहरूको परीक्षा सञ्चालन हुनेछ । आंशिक विद्यार्थीको परीक्षा तालिका फरक छ ।













