५ भदौ, सुर्खेत ।

पञ्चपुरी नगरपालिकामा सामुदायिक सशक्तीकरण तथा उद्यमशीलता (CARE) परियोजनाको परिचयात्मक तथा समन्वय बैठक सम्पन्न भएको छ।
पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालवीर भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकमा CARE परियोजनाको उद्देश्य, कार्यक्षेत्र, आगामी कार्यक्रम तथा स्थानीय तहसँगको समन्वयका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि तथा विभिन्न शाखाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नगर प्रमुख लालवीर भण्डारीले स्थानीय समुदायको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर परियोजनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो। उहाँले स्थानीय तहसँग प्रभावकारी समन्वय र सहकार्य गर्दै समुदायको आर्थिक तथा सामाजिक सशक्तीकरणमा परियोजनाले योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
नगर प्रमुख भण्डारीले भन्नुभयो, “स्थानीय आवश्यकता पहिचान गरेर कार्यक्रम सञ्चालन गर्न सके मात्रै त्यसको वास्तविक लाभ समुदायसम्म पुग्छ। नगरपालिकाले परियोजनासँग आवश्यक समन्वय र सहकार्य गर्दै प्रभावकारी कार्यान्वयनमा सहयोग गर्नेछ।”
बैठकमा CARE परियोजनाका कार्यक्रम संयोजक गणेश विकले सहजीकरण गर्दै परियोजनाको उद्देश्य, कार्यक्षेत्र र सञ्चालन हुने गतिविधिबारे जानकारी गराउनुभएको थियो।
परियोजनाले समुदायको सशक्तीकरण, उद्यमशीलताको विकास तथा स्थानीय नागरिकको क्षमता अभिवृद्धिमा जोड दिने जनाइएको छ। बैठकमा परियोजनाका गतिविधिलाई स्थानीय आवश्यकता अनुरूप प्रभावकारी रूपमा सञ्चालन गर्ने तथा नगरपालिका र परियोजनाबीच निरन्तर समन्वय कायम गर्ने विषयमा समेत छलफल भएको थियो।













