आज मेरो जन्मदिन । म रुँदै गर्दा मेरो आमा हाँसेको दिन । प्रसव पीडालाई बिर्सेर मेरो आमा खुसी भएको दिन । अनि मेरो बुवाको काँधमा जिम्मेवारी थपिएको दिन । घरमा भएका अन्य दाजु र दिदीहरू हाँसेको दिन अनि खुसी भएको दिन । हरेक दुःख कष्ट र पीडालाई बिर्सेर हुर्काएको मेरी आमा र पारिवारिक जिम्मेवारी बोधका साथ काँधमा जिम्मेवारी बोकेर परिवारलाई र सन्तानलाई सुख दिनकाे लागि जिम्मेवारीका साथ भूमिका बहन गर्ने मेरो आमा बुवाप्रति नमन । आफ्नो दुःख कष्टलाई कुनै प्रवाह नगरी आफू भोकै रहेर पनि मलाई हुर्काउने मेरो आमा अनि पसिना बगाउँदै सन्तानलाई पाल्नको लागि जिम्मेवारी बोध गर्ने मेरो बुवा उहाँको कारणले मेरो जिन्दगी अगाडि बढ्दै गयो ।
बामे सार्दै तोते बोलीसँगै जब उमेर बढ्दै गयो अनि मेरा बालापनका साथीहरुसँग म हुर्किँदै गएँ। खेल्दै गए र समय बढ्दै गयो । परिवारको कान्छो सन्तानको रुपमा भएर होला मलाई मायाको कुनै कुरामा कमी भएन । समयसँगै मेरा जिन्दगीका पानाहरू अगाडि बढ्दै गए। गाउँकै नेपाल राष्ट्रिय आधारभूत विद्यालयबाट औपचारिक शिक्षा सुरुवात गरेर मेरो जिन्दगीको शैक्षिक यात्रा अगाडि बढ्यो । सानो हुँदा पढ्दै गर्दा विद्यालयका सहपाठीहरू मेरो जिन्दगीमा साथी बनेर आए, त्यसपछि समय बढ्दै गयो मेरो जिन्दगीलाई अगाडि बढाउनको लागि मेरो घरपरिवारसँगै श्रीमती जिन्दगीको सहयात्रीको रुपमा मैले पाएँ।
जिन्दगीका हरेक कालखण्ड हरेक समय हरेक चुनौती हरेक समस्या सँग आफूलाई पौठे जोरी खेल्दै मेरो जिन्दगी निरन्तर अघि बढिरह्यो । आमाबुवाको लागि सन्तान जहिले पनि सानो हुन्छ । मेरा जिन्दगीका पाइलाहरु अगाडि बढ्दै थिए। म मेरो जिन्दगीका अनगिन्ती आशाहरु बोकेर अगाडि बढ्दै गएँ । मेरो काँधमा जिम्मेवारी थपियो । त्यो सँगै मैले अभिभावकको जिम्मेवारी निर्वाह गर्नुपर्ने भयो । जिम्मेवारीसँगै मसँग नाता जोडियो सम्बन्ध जोडियो छरछिमेकीहरू जोडिए त्यो सँगसँगै मेरा धेरै शुभचिन्तकहरु जोडिए र म सामाजिक रुपमा जिम्मेवारीमा बाँधिए ।
जसरी मूर्ति बन्नको लागि एउटा ढुङ्गा कुद्नै पर्छ यसरी नै मेरो जिन्दगीलाई पनि एउटा रूप दिनको लागि मैले धेरै समस्या धेरै सिकाई धेरै अवसर धेरै चुनौतीसँग म कुद्दै गएँ। समस्यालाई समाधान गर्दै चुनौतीलाई अवसरको रुपमा लिँदै सफलतालाई मार्गदर्शनको रुपमा लिँदै म अगाडि बढ्दै गएँ। विगतलाई नियाल्नु मेरो लागि एउटा पाठ हो । वर्तमानमा जहाँ छु त्यो मेरो कर्म हो र भविष्यमा के बन्नेछु त्यो मेरो सपना हो । मैले भविष्यमा के गर्न छ त्यसको लागि मैले वर्तमानमा मेरो घरपरिवारको सल्लाह लिन छ साथ लिन छ जिम्मेवारी पूरा गर्न छ ।
समय बित्दै जाँदा समयले मलाई के दियो जिन्दगीमा मैले के पाए त्यो मेरो सिकाइ हो । मैले धेरै साथीभाईको माया पाएँ । धेरै इष्टमित्रको साथ पाएँ । घरपरिवारको सल्लाह र हौसला पाएँ । दाजुभाईहरूको प्रेरणा पाए र आमाबुबाको माया र जिम्मेवारी पाएँ । मलाई धेरै केही कमाउन छैन । कमाउन छ त आफन्तको विश्वास कमाउन छ, साथीभाइहरूको साथ कमाउन छ, घरपरिवारको कर्तव्य निभाउन छ, समस्या चुनौतीका बीचमा सफलता कमाउन छ र सबैको मन जित्न छ ।
मलाई कसैप्रति ईर्ष्या डाहा क्रोध पूर्वाग्रही र घृणित र गलत सोच राख्ने न फुर्सद छ न समय छ, मलाई मात्र छ त आफ्नो जिन्दगी सर्वश्रेष्ठ बनाउन छ । समस्या र चुनौतीलाई सिकाइको रूपमा लिने मेरो एउटा प्रण छ । अनि आफ्नो सपना पूरा गर्नको लागि त्यही काम फरक ढङ्गबाट र फरक सोचका साथ गर्न छ । मेरो जिन्दगीका हरेक कालखण्डमा यहाँसम्म पुर्याउनको लागि थुप्रै गुरुहरुले मलाई साथ दिनुभएको छ ।
जन्मिँदा घरपरिवारमा माया ममता र तोते बोली सिकाउनको लागि मेरो घरपरिवार सबैभन्दा पहिलो पाठशाला हो । पहिलो गुरु हो । मलाई शिक्षा दिने र यो अवस्थासम्म उज्यालो प्रकाश दिने मेरा अनगिन्ती गुरुहरूप्रति मेरो नमन छ । काम गर्दै जाँदा विभिन्न संघसंस्था विभिन्न समूह विभिन्न क्लबहरू र विभिन्न ठाउँमा काममा प्रेरणाको हौसला दिने मेरा आफन्तजन इष्टमित्र र मेरा साथीभाइहरु मेरो लागि गुरु हुन् । मैले काम गर्दैगर्दा मैले आफ्नो कर्तव्य पूरा गर्दैगर्दा विभिन्न किसिमका आरोह अवरोध खडा गर्दै बाटोमा काडा बिछ्याउनेहरू पनि मेरो लागि गुरु नै हुन् । म जिन्दगीमा समस्या परेको बेला सहयोग र साथ दिने, समस्या परेको बेला टाढा भाग्ने र समस्या पार्न खोज्ने यी ३ ब्यक्ति लाई कहिल्यै भुल्ने छैन ।
आफ्नो जिन्दगीमा र समाजमा धेरै कुरा गर्न बाँकी छ । अहिलेको इज्जत प्रतिष्ठा र मर्यादालाई बचाउन छ र नयाँ उचाइमा पुर्याउन छ । आफ्नो ३८ औं बसन्त पार गर्दै गर्दा मलाई सामाजिक सञ्जालमा व्यक्तिगत भेटेर विभिन्न माध्यमबाट हौसला उत्साह र शुभकामना दिनेहरूप्रति म ऋणी छु । उहाँहरूकै हौसला प्रेरणा र उत्साहले अझै म तिखारिन छ, अझै प्रगति गर्न छ र अझै केही गर्न छ। हौसला उत्साह साथ सहयोग र समर्थन गर्ने सम्पूर्णमा धन्यवाद दिन चाहन्छु ।