यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई वैशाखमा गर्ने तयारी भइरहेको सरकारले जनाएको छ ।
अहिलेसम्म परीक्षा तालिका नहुँदा र संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेकाले विद्यार्थी, शिक्षक तथा अभिभावक एसईई हुने वा नहुने भन्नेमा अन्योलमा छन् । तर राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा हुने र वैशाखमा गर्ने गरी तयारी भइरहेको स्पष्ट पारेको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले वैशाखको सुरुमा परीक्षा सञ्चालन गर्नेगरी तयारी भइरहेको जानकारी दिनुभयो । केही दिनभित्र परीक्षा तालिका सार्वजनिक हुने उहाँले उज्यालोलाई जानकारी दिनुभयो । वैशाखमा परीक्षा हुँदा पनि कक्षा ११ को नयाँ शैक्षिक सत्रसम्बन्धी क्यालेन्डरमा कुनै असर नपर्ने गरी नतिजा प्रकाशन गरिने उहाँले बताउनुभयो ।