५ मंसिर, सुर्खेत ।
प्रतिजैविक प्रतिरोध बुझौँ बुझाऔं आजैबाट रोकथाममा जुटौं भन्ने उद्देश्य सहित विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह विषयक अन्तरक्रिया कार्यक्रम हिजो बाबियाचौरमा सम्पन्न भएको छ । नगरपालिकामा रहेका स्वास्थ्य संस्थाका प्रमुख सरोकारवाला निकाय प्रहरी जनप्रतिनिधिहरु बीच अन्तरक्रिया कार्यक्रम गरिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतको आयोजनामा भएको कार्यक्रममा औषधिहरूको गलत प्रयोग र यसले व्यक्तिको स्वास्थ्यमा पार्ने असरका विषयमा छलफल गरिएको छ ।
कार्यक्रमका सहभागीहरूले पछिल्लो समय औषधिहरूको प्रयोग गर्ने तरिकाहरू फरक हुने गरेको र सामान्य बिरामी हुँदा समेत एन्टिबायोटिक प्रयोग गर्ने हुँदा यसको चरम दुरुपयोग हुने गरेको बताएका छन् । साथै उनीहरुले औषधिको गलत प्रयोग रोकथामका लागि समुदायमा सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको समेत बताएका छन् ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख गणेश भक्त गौतमले समुदायमा थुप्रै नागरिकहरु अहिले आफूलाई डाक्टरको रुपमा प्रस्तुत गर्ने र स्वास्थ्य संस्थामा चेकजाँच बिना औषधि माग्ने गरेको बताएका छन् । औषधिहरू विभिन्न प्रकारका हुने गरेको हुँदा व्यक्तिको स्वास्थ्य जाँच बिना औषधि प्रयोग गर्नाले त्यसले थप समस्या सिर्जना हुने समेत बताएका छन् । कार्यक्रमका सहभागीहरूले समुदायमा जनचेतना जगाउन जनस्वास्थ्यले नियमित कार्यक्रमहरू सञ्चालन गर्न सुझाव समेत दिएका छन् ।













