२२ असोज, सुर्खेत ।
भेरी सामुदायिक ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पञ्चपुरी ५ बाबियाचौर सुर्खेतको १५ औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । विद्याज्योती माध्यमिक विद्यालय बावियाचौरमा भएको साधारण सभामा ४७ लाख ४६ हजार ६७ रुपैया बराबरको आय ब्यय प्रस्तुत गरिएको छ । सहकारीका कोषाध्यक्ष हिरामणि पौड्यालले आर्थिक वर्ष २०८०÷०८१ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । कार्यक्रममा बोल्दै विभिन्न अतिथिहरूले स्थानीय स्तरमा रहेका सहकारीहरूको अवस्था कमजोर बन्दै गएको हुँदा यसप्रति सम्बन्धित निकाय र सरोकारवालाहरूले ध्यान दिन आवश्यक रहेको बताएका छन् । साथै उनीहरुले नगरपालिकामा रहेका सहकारीहरुलाई मर्ज गरी सञ्चालन गर्न आवश्यक रहेको समेत सुझाव दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले सहकारीमा रहेका सेयर सदस्यहरूले सहकारीप्रति जिम्मेवार बन्न जरुरी रहेको बताउनुभएको छ । ऋण कारोबार गरेर बचत रकम फिर्ता नगर्ने परिपाटी रहेको बताउँदै उहाँले ऋणीहरूले जुनसुकै समयमा पनि सो रकम फिर्ता गर्नु पर्ने बताउनुभएको छ । साथै उहाँले स्थानीय तहको तर्फबाट आवश्यक पहल गर्ने र सहकारी एकीकरण गर्नको लागि प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ ।
कार्यक्रममा लोकेन्द्र रावल, भूपेन्द्र सिजापति, भीमबहादुर रावत, कृपाराम थापा, छविलाल सिग्देल, नगेन्द्र बहादुर शाही लगायतले सहकारीको सफलताको शुभकामना समेत दिनुभएको छ । लोकबहादुर बुढाले सञ्चालन गरेको कार्यक्रम सहकारीका अध्यक्ष रामबहादुर बिष्टको अध्यक्षतामा सम्पन्न भएको हो ।