१० असोज, सुर्खेत ।
मिलिजुली साना किसान कृषि सहकारी संस्था लिमिटेड पञ्चपुरी ९ विद्यापुर सुर्खेतको छैठौँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सहकारीको साधारण सभामा कुल ४७ लाख ७८ हजार रुपैयाँ बराबरको आर्थिक आय व्यय प्रस्तुत गरिएको छ । साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष दिलकुमारी कडेल सहकारीको आगामी योजनाको बारेमा प्रस्तुत गर्नुभएको छ ।
सहकारीले विभिन्न सदस्यहरुलाई सम्मान गर्ने, कृषकहरुद्वारा उत्पादित कृषि उपज खरिद बिक्री गरी किसानको उत्पादनको भण्डारण तथा बजारीकरण गर्न पहल गरिने, दूध डेरीलाई निरन्तरता दिई अझ व्यावसायिक गरी अगाडि बढाइने, व्यावसायिक किसानहरूलाई अवलोकन भ्रमण कार्यक्रम सञ्चालन गर्ने समेत योजना बनाएको छ ।
कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका उपप्रमुख मुक्ति रेग्मीले महिलाहरूको आर्थिक विकासका लागि सहकारीले गरेको काम प्रशंसायोग्य रहेको बताउनुभएको छ । साथै उहाँले महिलाहरुले नेतृत्व गरेको सहकारीलाई यस अघि पनि नगरपालिकाबाट सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले सहकारी को भवन निर्माणका लागि प्रतिबद्धता जनाए अनुसार सहकारीको दूध संकलन केन्द्रको रुपमा भवन निर्माण गरिएको बताउनुभएको छ । आफूले साधारण सभामा गरेको प्रतिबद्धता अनुसार काम सम्पन्न भएकोमा खुसी ब्यक्त गर्नुभएको छ । साथै उहाँले सहकारीमा विभिन्न व्यक्तित्वहरूले अनावश्यक रुपमा भ्रम सिर्जना गरेको हुँदा विभिन्न हल्लाको पछाडि नलागी सक्रिय भएर लाग्न सबैलाई आग्रह समेत गर्नुभएको छ ।
साधारण सभामा विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । साधारणसभा सहकारीका अध्यक्ष दिलकुमारी कँडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।