निषेधाज्ञा खुकुलो भएसँगै पञ्चपुरीका निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आउने भएका छन् । विद्यालय सञ्चालनको अधिकार पालिकालाई नै दिइएपछि सुर्खेतको पञ्चपुरीका बिद्यालय भदौ २७ गते देखि सञ्चालन गर्ने तयारी थालिएको छ ।

कोभिड संक्रमण तीव्र भएपछि ५ महिनादेखि ठप्प विद्यालय अर्को साता खोल्ने निर्णय भएको पञ्चपुरी नगरपालिका शिक्षा शाखाका स्रोत ब्यक्ती द्रोणराज पाठकले जानकारी दिनुभयो ।
नगरपालिकाले आइतबार सरोकारवालासँग छलफल गरेपछि नगर शिक्षा समितिले स्वास्थ्य मापदण्ड पालना गरेर स्कुल खोल्ने निर्णय गरेको हो । कम विद्यार्थी भएका बिद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरेर एकै सिफ्टमा सञ्चालन गर्ने र बढी संख्या भए धेरै सिफ्ट छुट्याउनुपर्ने पाठकले जानकारी दिनुभयो ।
पञ्चपुरी नगरपालिका कोरोना महामारीको ग्रिन जोनमा परेको हुदा शिक्षा समितिले बिद्यालय सञ्चालनको अनुमतिका लागि डिसिएमसि लाई सिफारिस समेत गरेको छ ।
बिद्यालय सञ्चालन भएपछि नियमित स्वास्थ्य मापदण्डको पालना भए नभएको निरन्तर अनुगमन गरिने समेत समितिले जनाएको छ ।