नेपाली कांग्रेसको तल्लो तहको अधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन शुरू भएको छ । अधिवेशनको अघिल्लो दिनसम्म पनि क्रियाशील सदस्यताको विवाद टुंगो नलाग्दा २१ जिल्लाको वडा अधिवेशन भने अनिश्चित बनेको छ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार आज शुक्रबार क्रियाशील सदस्यको सूची प्राप्त ५६ जिल्लाका वडामा मात्र अधिवेशन शुरू हुँदै छ ।
आजबाट तल्लो तहको अधिवेशन शुरू भएसँगै कांग्रेसभित्र संस्थापनइतर समूह भनेर चिनिने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी आफ्नो समूह एकढिक्का भएको सन्देश दिँदै वडादेखि केन्द्रसम्मै एकताका साथ अघि बढ्ने बताउनुभएको छ ।
कांग्रेस अधिवेशनको कार्यतालिकाअनुसार भदौ २७ गते गाउँ/नगर अधिवेशन गर्ने तालिका रहेको छ । वडाबाट छानिएका क्षेत्रीय प्रतिनिधिहरूले गाउँ/नगरको कार्यसमिति निर्वाचित गर्ने भएकाले २७ गते अगाडि नै वडा अधिवेशन गर्नुपर्ने छ । कांग्रेसले बाँकी जिल्लाहरूमा गाउँ/नगर अधिवेशनलाई असर नपर्ने गरी २५ गतेसम्म वडा अधिवेशन गर्न सकिने जनाएको छ । निर्वाचन समितिका संयोजक यादवका अनुसार पनि वडा अधिवेशन शुरू हुन बाँकी जिल्लामा पनि अबको चार/पाँच दिनभित्र अधिवेशन गर्न सकिने गरी तयारी भइरहेको छ ।