३ भदौ सुर्खेत ।
पञ्चपुरी नगरपालिका–२ सालकोटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र अब पञ्चपुरी आधारभूत अस्पतालका रूपमा स्तरोन्नति भएको छ । अस्पतालको नयाँ संरचना र सेवा विस्तारसँगै आवश्यक कामलाई अघि बढाइएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई आधारभूत अस्पतालका रूपमा विकास गर्ने योजनाअन्तर्गत यसअघि १५ शैय्याको अस्पताल भवन निर्माण गरिएको थियो । अब अस्पतालबाट स्थानीय नागरिकलाई थप व्यवस्थित र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी गरिएको छ । बिरामीको चापलाई ध्यानमा राख्दै शैया तथा सेवा विस्तार गरिएको विवरण सार्वजनिक भएको छ । पञ्चपुरी नगरपालिकाले आधारभूत अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३ समेत जारी गरेको छ ।


पञ्चपुरी आधारभूत अस्पतालबाट बहिरंग अर्थात् ओपीडी सेवा, आकस्मिक उपचार, सामान्य तथा नियमित स्वास्थ्य परीक्षण, प्रयोगशाला परीक्षण, औषधि सेवा, मातृ तथा बाल स्वास्थ्यसम्बन्धी सेवा, स्वास्थ्य बीमा सेवा लगायतका आधारभूत उपचार सेवा थप व्यवस्थित रूपमा उपलब्ध गराउने लक्ष्य राखिएको छ । आधारभूत अस्पतालबाट सामान्य स्वास्थ्य परीक्षण तथा उपचार, आकस्मिक तथा प्राथमिक उपचार, मातृ तथा शिशु स्वास्थ्य सेवा, गर्भवती जाँच, सुत्केरी तथा सुत्केरीपछिको सेवा, परिवार नियोजन र प्रजनन स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध गराउने व्यवस्था रहनेछ ।
त्यसैगरी बाल स्वास्थ्य सेवा, नियमित खोप, पोषणसम्बन्धी परामर्श, रक्तचाप तथा मधुमेहजस्ता नसर्ने रोगको परीक्षण र व्यवस्थापन, सामान्य चोटपटक तथा घाउको उपचारलगायतका सेवा पनि सञ्चालन हुनेछन् ।
अस्पतालमा आवश्यकताअनुसार प्रयोगशाला परीक्षण, औषधि वितरण तथा स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउने व्यवस्था रहनेछ । जटिल प्रकृतिका बिरामीलाई आवश्यकताअनुसार विशेषज्ञ सेवा उपलब्ध हुने ठूला अस्पतालमा रेफर गर्ने व्यवस्था पनि आधारभूत अस्पतालको महत्वपूर्ण सेवा हुनेछ ।

यस अस्पतालबाट पञ्चपुरी नगरपालिका मात्र नभई पश्चिम सुर्खेतका विभिन्न क्षेत्र तथा छिमेकी जिल्लाका नागरिकले समेत स्वास्थ्य सेवा लिन सक्ने अपेक्षा गरिएको छ । यसअघि पनि सालकोटमा अस्पताल स्तरोन्नति भएपछि पश्चिम सुर्खेतका तीन पालिका र अछामका नागरिकलाई समेत सहज हुने बताइएको थियो ।
नगर प्रमुख लालवीर भण्डारीले नागरिकलाई आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्राथमिक स्वास्थ्य केन्द्रलाई आधारभूत अस्पतालका रूपमा विकास गरिएको बताउनुभएको छ । उहाँका अनुसार अस्पताललाई आवश्यक जनशक्ति, उपकरण र पूर्वाधारसहित प्रभावकारी रूपमा सञ्चालन गर्दै नागरिकलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम गर्ने नगरपालिकाको लक्ष्य रहेको छ ।
यसअघि पनि नगर प्रमुख भण्डारीले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने लक्ष्यअनुसार अस्पताल निर्माण तथा स्तरोन्नतिको काम अघि बढाइएको बताउनुभएको थियो । पञ्चपुरी आधारभूत अस्पताल पूर्ण रूपमा व्यवस्थित हुँदै गएपछि सामान्य उपचारका लागि सदरमुकाम वीरेन्द्रनगर वा अन्यत्र जानुपर्ने स्थानीयको बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

अहिले अस्पतालमा दैनिक ठूलो सङ्ख्यामा बिरामी आउने गरेको र स्वास्थ्य बीमा सेवा समेत उपलब्ध रहेको रिपोर्टहरूमा उल्लेख छ । नगरपालिकाले अस्पताललाई पश्चिम सुर्खेतकै भरपर्दो स्वास्थ्य उपचारको केन्द्रका रूपमा विकास गर्ने गरी आवश्यक पूर्वाधार, जनशक्ति र सेवा विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ ।














