कांग्रेसले बदल्यो महाधिवेशनको कार्यतालिका, भदौ १६ देखि १९ सम्म काठमाडौंमा हुने

कांग्रेसले १४औँ महाधिवेशनका लागि तेस्रोपटक मिति तोकेको छ । भदौमा पनि महाधिवेशन नगरे पार्टी संवैधानिक संकटमा पर्ने भएपछि कांग्रेसले जसरी पनि महाधिवेशन गर्नैपर्ने अवस्थामा साढे दुई महिनाको समयावधि राखेर महाधिवेशनको नयाँ तालिका ल्याएको हो । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी १६, १७, १८ र १९ भदौमा काठमाडौंमा १४औँ केन्द्रीय महाधिवेशन गर्ने मिति तोकेको छ । 

गत शनिबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय समितिले तयार गरेको प्रस्ताव बैठकले पारित गरेको हो । बैठकले क्रियाशील सदस्यता छानबिन समितिले २० असारमा सदस्यता छानबिन गरी सभापति देउवासमक्ष बुझाइसक्नुपर्ने, ३० असारमा सभापतिले अन्तिम नामावली निर्वाचन समितिलाई हस्तान्तरण गर्ने र १२ साउनदेखि तल्ला तहको अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । 

त्यसपछि १६ साउनमा स्थानीय तह, २० साउनमा प्रदेश सभा क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा क्षेत्र एवं एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन हुनेछ । त्यस्तै, २६ साउनमा एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन हुनेछ भने १ र २ भदौमा सात प्रदेशको अधिवेशन हुनेछ । सभापति देउवाले महाधिवेशनको विकल्प नभएको भन्दै समयमै पूर्वतयारी पूरा गरी महाधिवेशन गर्नेतर्फ केन्द्रित हुन निर्देशन दिएका छन् । 

महाधिवेशनका लागि सबैभन्दा पेचिलो काम क्रियाशील सदस्यता छानबिनको छ । समितिमा अहिले पाँच हजारभन्दा बढी उजुरी परेका छन् । तर, अहिलेसम्म छानबिनका लागि कुनै मापदण्ड नै तयार भएको छैन । 

कांग्रेसले यसअघि ७ देखि १० भदौसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो । जसअनुसार १७ जेठमै क्रियाशील छानबिनको काम पूरा भइसक्नुपर्ने थियो । सो कार्यतालिकामा ६ असारदेखि तल्ला तहको अधिवेशन गर्ने मिति तोकिएको थियो । तर, क्रियाशीलकै काममा ढिलाइ भएपछि महाधिवेशन सरेको हो । 

कांग्रेसले पहिलोपटक ०७७ फागुन ७–१० का लागि महाधिवेशनको मिति तोकेको थियो । त्यो मितिमा गर्न नसकेपछि ०७८ भदौ ७–१० का लागि सारेको थियो । तर, सो मितिमा पनि महाधिवेशन गर्न नसक्ने भएपछि अर्को मिति तोकेको हो । महाधिवेशन स्थल काठमाडौं तोकिए पनि महामारीबीच कसरी महाधिवेशन गर्ने भन्नेबारे भने अझै टुंगो लागेको छैन । 

विधानबमोजिम कांग्रेसले चार–चार वर्षमा महाधिवेशन गर्नुपर्ने हो । तर, कार्यकाल पूरा भएपछि मात्रै विधानको विशेष व्यवस्थाअनुसार महाधिवेशनको मिति तोकेका सभापति देउवाले सो समयमा पनि गर्न सकेनन् । हाल संविधानको व्यवस्थालाई टेकेर विधान संशोधन गर्दै अन्तिमपटक भदौका लागि महाधिवेशनको मिति तोकेको हो । संविधानले राजनीतिक दलले साढे पाँच वर्षमा एकपटक अनिवार्य पदाधिकारीको चुनाव गराउनुपर्ने भनेको छ । 

नवीकरण गर्न छुटेकालाई मौका

कांग्रेसले नवीकरण गर्न छुट भएका क्रियाशील सदस्यहरूलाई पुनः नवीकरण गर्ने मौका दिएको छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले ७७ वटै जिल्लालाई परिपत्र गर्दै ९ असारभित्र छुट भएका क्रियाशील सदस्यता नवीकरण गरी त्यसको विवरण पठाउन निर्देशन दिएको हो । धेरै सदस्यको नवीकरण छुट भएको र त्यससम्बन्धी गुनासोसमेत आएकाले नवीकरण गर्ने मौका दिइएको छानबिन समितिका सदस्यसमेत रहेका नेता जीवन परियारले जानकारी दिए । 

‘सामान्यतः विधानले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेको वा त्यस्तो विद्रोही उम्मेदवारको प्रस्तावक–समर्थन बनेको, पार्टी अनुशासनको कारबाहीमा परेको, पार्टी परित्याग गरेको र निधन भएको अवस्था मात्रै नवीकरण नगर्ने भनेको छ, तर यसपटक करिब ८० हजार सदस्यको सदस्यता नवीकरण भएको छ,’ नेता परियारले भने, ‘त्यसकारण ठूलो संख्यामा लामो समयदेखि क्रियाशील रहेका सदस्यको नवीकरण छुट नहोस् भनेर मौका दिइएको हो ।’ समितिले आगामी ९ असारभित्र सदस्यको शुल्कसहित सदस्यहरूको विवरण पठाउन निर्देशन गरेको छ । 

क्रियाशील सदस्य नै कांग्रेसका तल्ला तहका मतदाता हुन् । क्रियाशील सदस्यले जिल्ला र क्षेत्रीय अधिवेशनका प्रतिनिधि चयन गर्छन् । ती प्रतिनिधिले केन्द्रीय नेतृत्व चयन गर्ने केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनेर पठाउँछन् । १३औँ महाधिवेशनमा क्रियाशील सदस्यको संख्या चार लाख ७० हजार थियो । तर, यसपटक त्यसमध्येबाट तीन लाख ८० हजार तीन सय ७८ जनाले मात्रै सदस्यता नवीकरण गरेका छन् । 

विपक्षी गठबन्धनलाई कांग्रेसले दियो औपचारिकता
संविधान र लोकतन्त्रको रक्षाका निमित्त कांग्रेसले विपक्षी गठबन्धनलाई निरन्तरता दिने भएको छ । अनौपचारिक छलफल र बैठकमा सीमित रहेको विपक्षी पाँच दलको गठबन्धनलाई कांग्रेसले औपचारिकता दिएको हो । शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकले सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न समर्थन गर्ने र राष्ट्रपति–प्रधानमन्त्रीको असंवैधानिक निर्णयका विरुद्धमा संयुक्त रूपमा सर्वोच्च अदालतमा निवेदन प्रस्तुत गर्ने सबै दलको सहमतिलाई थप सुदृढ र प्रभावकारी बनाउने निर्णय गरेको छ । गठबन्धनमा माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सम्बद्ध छन् । 

बैठकमा सभापति शेरबहादुर देउवाले गठबन्धनका विषयमा अनावश्यक भ्रममा नपर्न र त्यस्तो भ्रम नफैलाउन आग्रह गरे । ‘यो संविधान, लोकतन्त्र, संघीयता र अहिलेको व्यवस्थाको रक्षाका निमित्त गरिएको गठबन्धन हो, यसमा धेरै भ्रम पर्नुपर्ने कुरा छैन,’ देउवाले भनेका थिए । 

बैठकले गठबन्धनलाई संविधान र लोकतन्त्रको रक्षार्थ राजनीतिक दलहरूका बीच समान धारणाका साथ अघि बढ्ने निर्णय गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । ‘राजनीतिमा पनि कुनै पनि शक्ति स्थायी मित्र वा स्थायी शत्रु हुँदैन । यो समयानुकूल गर्ने हो,’ बैठकमा सम्बोधन गर्दै पौडेलले भने, ‘दलहरूबीच सहकार्य गरेर जाने कुरामा गुट–उपगुटमा विभाजित नहोऔँ । अहिलेको गठबन्धन संविधान र लोकतन्त्रको रक्षाका निमित्त हो । यो गठबन्धन आगामी निर्वाचनसम्म पनि सँगै जानुपर्ने हुन सक्छ ।’

केन्द्रीय सदस्य महेश आचार्यले बिहीबारको बैठकमा सभापति देउवाले विपक्षी गठबन्धनका नाममा दिएका अभिव्यक्तिप्रति प्रश्न उठाएका थिए । ‘बहुमत पुर्‍याएर सरकार बनाउने कुरासम्म ठीक छ, तर सबै कुरा गठबन्धनबाटै गर्नु पार्टीहित विपरीत हुन सक्छ, त्यसैले संस्थागत छलफल नगरी संस्थागत धारणा राख्नु उपयुक्त होइन,’ उनले भनेका थिए । 

देउवाले त्यसको जवाफस्वरूप गठबन्धनका विषयमा केन्द्रीय सदस्यहरूलाई जथाभावी नबोल्नसमेत निर्देशन गरेका छन् । गठबन्धनका तर्फबाट देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै परेको रिटमाथि सर्वोच्च अदालतमा ९ असारदेखि बहस हुँदै छ । सो रिटमा गठबन्धनका एक सय ४६ जना सांसदले हस्ताक्षर गरेर प्रतिनिधिसभाको पुनस्र्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेका छन् । 

महाधिवेशन कार्यतालिका

पहिलोपटक : १३ माघ ०७६ मा तोकिएको कार्यतालिका
– वडा अधिवेशन ०७७ कात्तिक १६ 
– स्थानीय तहको अधिवेशन ०७७ कात्तिक १८ 
– प्रदेश सभा क्षेत्रीय अधिवेशन ०७७ कात्तिक २१ 
– प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन ०७७ कात्तिक २३
– एकभन्दा बढी क्षेत्र भएका जिल्ला अधिवेशन ०७७ कात्तिक २५ 
– प्रदेश अधिवेशन ०७७ मंसिर २९ 
– केन्द्रीय महाधिवेशन ०७७ फागुन ७ देखि १०, काठमाडौं 

दोस्रोपटक : ६ फागुन ०७७ मा तोकिएको कार्यतालिका
– वडा तहको अधिवेशन ०७८ असार ५
– स्थानीय तहको अधिवेशन ०७८ असार ७ 
– प्रदेश सभा क्षेत्रीय अधिवेशन ०७८ साउन १
– प्रतिनिधिसभा क्षेत्रीय/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ०७८ साउन ३
– एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ०७८ साउन ६ 
– प्रदेश अधिवेशन ०७८ साउन १० र ११ 
– केन्द्रीय महाधिवेशन : ०७८ भदौ ७ देखि १० गतेसम्म, काठमाडौं 

तेस्रोपटक : ४ असार ०७८ मा तोकिएको कार्यतालिका
– वडा तहको अधिवेशन ०७८ साउन १२
– स्थानीय तहको अधिवेशन ०७८ साउन १६ 
– प्रदेश सभा क्षेत्रीय अधिवेशन ०७८ साउन २० 
– प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन ०७८ साउन २३ 
– एकभन्दा बढी क्षेत्र भएका जिल्लाको अधिवेशन ०७८ साउन २६ 
– प्रदेश अधिवेशन ०७८ भदौ १ र २ 
– केन्द्रीय महाधिवेशन ०७८ भदौ १६ देखि १९ सम्म, काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...