२९, जेठ सुर्खेत ।

पञ्चपुरी नगरपालिकामा महिला जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरूका लागि नेतृत्व सीप विकास प्रशिक्षण कार्यक्रम सुरु भएको छ।
पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालबिर भण्डारीले उद्घाटन गर्नुभएको उक्त कार्यक्रम नगर उपप्रमुख मुक्ति रेग्मीको अध्यक्षतामा सुरु भएको हो । पञ्चपुरी नगरपालिका, सुर्खेतको आयोजना तथा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर को सहकार्यमा सञ्चालन भएको प्रशिक्षण २०८३ साल जेठ २९ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख भण्डारीले महिला जनप्रतिनिधिहरूको नेतृत्व क्षमता, निर्णय गर्ने दक्षता तथा स्थानीय शासनमा प्रभावकारी भूमिका अभिवृद्धि गर्न यस्ता तालिमहरू अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्दै नगरको समग्र विकासमा योगदान पुर्याउन सहभागीहरूलाई आग्रह गर्नुभयो।
अध्यक्षता गर्दै नगर उपप्रमुख मुक्ति रेग्मीले महिला नेतृत्व सशक्तीकरण, सुशासन प्रवर्द्धन तथा स्थानीय तहको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन क्षमता विकासमूलक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा महिला जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको छ। प्रशिक्षणमार्फत नेतृत्व विकास, प्रभावकारी सञ्चार, निर्णय प्रक्रिया, समन्वय तथा स्थानीय शासनसँग सम्बन्धित विविध विषयमा सहभागीहरूको ज्ञान र सीप अभिवृद्धि गरिने जनाइएको छ। तालिमको सहजिकरण प्रशिक्षक गंगाराम दाहाल र हेमराज थापाले गर्नुभएको छ ।














