स्वास्थ्य संस्थामा उपचार गर्न नागरिकले आनाकानी गरेपछि जाजरकोट र डोल्पाका केही पालिकाले घरघरमा गएर उपचार सुरु गरेका छन् ।
बारेकोट गाउँपालिकाले कोरोना सङ्क्रमित खोज्न र कोरोनाबाट बच्न सचेतना जगाउँदै स्वास्थ्यकर्मीको टोलीसहित घरदैलोमा हिँडेको बताएको छ।
सबै वडाका टोलटोलमा सङ्क्रमित खोज्न जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो । पालिकाको वडा नम्बर १, ६, ७, ८ र ९ का घरघरमा पुगेर उपचार भइसकेको र अन्य वडामा घरदैलो जारी रहेको छ । शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षणका साथै सचेतनाका काम पनि भइरहेको छ ।
जटिल समस्या देखिएकालाई गाउँपालिकाको आइसोलेशनमा केन्द्रमा रेफर गरेर उपचार कार्य जारी रहेको अध्यक्ष शाहले बताउनुभयो । उहाँले अन्य रोगका बिरामीलाई पनि स्वास्थ्यकर्मीले घरमै पुगेर उपचार गरिरहेको बताउनुभयो । स्वास्थ्यकर्मीको टोली औषधि, उपकरण र विभिन्न स्वास्थ्य सामग्रीसहित गाउँमा रहेको छ । गाउँमा ज्वरो र रुघाखोकीका बिरामी बढे पनि स्वास्थ्यचौकीमा कोरोना परीक्षण गराउन आउनेको सङ्ख्या न्यून भएपछि टोली गाउँमा पुगेको उहाँले बताउनुभयो ।
गाउँमा कोरोना सङ्क्रमितलाई हेर्ने दृष्टिकोण फरक भएकाले अधिकांश बिरामीले स्वास्थ्य परीक्षण नगराएको बारेकाट–५ का जनकबहादुर शाहीले बताउनुभयो । गाउँपालिकाको टोली नखटिँदासम्म अधिकांश बिरामी घरेलु उपचार र धामीझाँक्रीकै भरमा थिए । उहाँले जनप्रतिनिधिसहित स्वास्थ्यकर्मी गाउँमा खटिएपछि अन्य रोगका बिरामीले पनि उपचार पाएको बताउनुभयो ।
स्वास्थ्य शाखाका प्रमुख वीरराज सिंहका अनुसार घरदैलोका क्रममा झण्डै २०० जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण भएको छ । तीमध्ये ७१ जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमितमध्ये ३६ होमआइसोलेशन र ३५ संस्थागत आइसोलेशनमा छन । ११ जनाको लिम्सामा रहेकाे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । रासस