८ असार, सुर्खेत

कल्पना मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर पञ्चपुरीको आयोजनामा तथा उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको सहयोगमा चौकुने गाउँपालिकामा मोटर ड्राइभिङ तालिम सञ्चालन भइरहेको छ।
तालिममा स्थानीय युवाहरूको उत्साहजनक सहभागिता रहेको छ। सहभागीहरूले तालिम उपयोगी भए पनि तालिमको अवधि छोटो भएकाले पर्याप्त रूपमा सिक्न समय नपुगेको बताएका छन् । उनीहरूले व्यावहारिक सीपलाई थप मजबुत बनाउन तालिमको समयावधि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
तालिमको अनुगमन तथा सहभागिताका क्रममा चौकुने गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष धनीराम धमालाले सहभागीहरूको सुझावलाई सकारात्मक रूपमा लिँदै तालिमलाई अझ लामो समयसम्म सञ्चालन गर्न आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले सीपमूलक तालिमले युवाहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
तालिमको सहजीकरण कल्पना मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरका ललित सुनारले गरिरहनुभएको छ । उहाँले सहभागीहरूलाई सैद्धान्तिक तथा व्यावहारिक दुवै पक्षबाट मोटर ड्राइभिङ सम्बन्धी ज्ञान र सीप प्रदान भइरहेको जानकारी दिनुभयो ।
स्थानीय स्तरमै सवारी चालक सम्बन्धी सीप विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले युवाहरूलाई रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।













