सुर्खेत ।
पञ्चपुरी नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई आज सामग्री वितरण गरिएको छ। नगरपालिकाको सहयोग आइएनएफ सुर्खेत पहुँच तथा समावेशीकरण परियोजना को समन्वय तथा महिला बालबालिका शाखा पञ्चपुरीको सहजीकरणमा नगरपालिका भित्रका १६ जना अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोगी सामग्री हस्तान्तरण गरिएको हो । अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापनमा सहजता ल्याउनको लागि नगरपालिकाले व्हिलचेयर, वाकर, सेतो छडी, वैशाखी लगायतका सामग्री वितरण गरेको हो ।

नगर उपप्रमुख मुक्ति रेग्मी र प्रमुख प्रशासकीय अधिकृत डिलबहादुर कार्कीको सहभागितामा सामग्री हस्तान्तरण गरिएको हो । सामग्री वितरण कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका नगर उपप्रमुख मुक्ति रेग्मीले सहयोगी सामग्रीले अपाङ्गता भएका व्यक्तिहरुलाई दैनिक जीवनयापनमा सहजता ल्याउने बताउनुभएको छ। साथै उहाँले आगामी दिनमा अपाङ्गता भएका व्यक्तिको आर्थिक आम्दानीका क्रियाकलापलाई प्राथमिकता दिँदै सिपमूलक तालिम तथा आयमूलक कार्यक्रम सञ्चालन गरिने बताउनुभएको छ ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूले नगरपालिका र आइएनएफ सुर्खेतले गरेको सहयोग तथा समन्वयको लागि धन्यवाद समेत दिएका छन् ।

