अछामकाे कमलबजार नगरपालिका वडा नं ५ कुईकामा उमेर पुगेर विवाह गर्ने एक विवाहित जोडीलाई सम्मान गरिएको छ। कमलबजार नगरपालिका वडा नम्बर ५ कुईका वडा कार्यालयले आयोजना गरेको कार्यक्रमका बीच एक विवाहित जोडीलाई शुक्रबार सम्मान गरिएको हो । वडा नम्बर ५ कुईकाका दुर्गाप्रसाद भण्डारी र तनुजा धमालाले उमेर पुगेर विवाह गरेकोले वडा कार्यालयले उनीहरूलाई सम्मान गरेको स्रोतले जनाएको छ। साथै बालविवाहलाई अन्त्य गर्ने क्रममा उनीहरूले उमेर पुगेर विवाह गरेकोले उनीहरूलाई सम्मानस्वरूप वडा कार्यालयको तर्फबाट प्रमाणपत्र हस्तान्तरण गरिएको छ। उक्त कार्यक्रममा बोल्दै वडाध्यक्ष सत्यराज तिमिल्सैनाले नकारात्मक असरलाई निरुत्साहित गर्नका लागि विवाहको संवैधानिक उमेर २० वर्ष बनाएको बताउँदै बालविवाहले बालबालिकाको जीवनमा धेरै नकारात्मक प्रभाव पार्ने र विशेषगरी किशोर किशोरी हरू मानसिक मनोवैज्ञानिक भावनात्मक र शारीरिक रुपमा विवाह र विवाहित जीवनका लागि परिपक्क नभएका कारण उनीहरूलाई धेरै असर गर्ने भएकाले वडामा कसैले पनि बालविवाह नगर्न र नगराउन समेत आग्रह गर्नुभएको छ। साथै अध्यक्ष तिमिल्सैनाले बालविवाह गराउनुको साटो आफ्ना छोराछोरीलाई विद्यालय पठाउन अभिभावकहरूलाई सुझाव दिनुभएको थियो। उहाँले बालविवाह रोकथामका लागि आफ्नो वडाबाट आफूले निरन्तर चेतनामूलक कार्यक्रमको आयोजना गरिरहेको बताउनुभयो। बालविवाह न्यूनीकरण लैङ्गिक विभेद बालश्रम जातीय छुवाछुत छाउपडी प्रथा जस्ता सामाजिक विकृति कम गर्न दिनरात नभनि लागिपर्ने प्रतिबद्धता जनाउनुभयो।