महिला लघुवित्त वित्तीय संस्था गुराँसे शाखाको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी आज दैलेखमा सम्पन्न भएको छ । शनिबार शाखा कार्यालय गुराँसेमा आबद्ध सदस्यहरुसंग कल्पना शाहीको सभापतित्वमा कार्यक्रम सम्पन्न गरिएको हो ।
महिला अधिकार तथा विकास केन्द्रका अध्यक्ष तुल्सी थापाले कार्यक्रममा बोल्दै महिलाहरुमा वित्तीय सचेतना जगाउने सचेत गराउने, बचत गर्ने बानीको विकास गराउने, सही वित्तीय निर्णय लिने क्षमताको विकास गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । कार्यक्रममा महिला सशक्तिकरण लघुवित्तले समाजमा पारेको सकारात्मक भुमिका र बैकिङ सम्बन्धि महत्वपुर्ण जानकारी भिडियो मार्फत स्पष्ट पारिएको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले कार्यक्रमलाई सम्बोधन गर्दै ग्राहकहरुलाई बैंकिङ्ग तथा बित्तीय साक्षरता सम्बन्धी सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनमा कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताउनुभयो ।
कार्यक्रममा महिला लघुवित्त वित्तीय संस्थाका संचालक समिति सदस्य उमा भण्डारी, कर्णाली प्रदेश प्रमुख प्रकाश बहादुर चन्द, विरेन्द्रनगर शाखाका प्रमुख शेर बहादुर सिंह,शाखा कार्यालय बाबियाचौरका प्रमुख आयुष न्यौपाने,शाखा कार्यालय गुराँसेका प्रमुख लोकेन्द्र बहादुर बुढा लगायतको सहभागिता रहेको थियो ।उक्त गोष्ठीमा ८० जना केन्द्र प्रमुखहरुको सहभागिता रहेको शाखा कार्यालय गुराँसेले जनाएको छ । कार्यक्रममा बैशाख देखि फाल्गुन सम्मको मुल्यांकनको आधारमा उत्कृष्ट भएका केन्द्रहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।