बाँके राष्ट्रिय निकुञ्जको खोरमा राखिएको पाटेबाघ भागेको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार खोरमा फलामे डण्डीको पाता बङ्गाएर बाघ जङ्गलतर्फ गएको छ ।
बर्दियामा मानिसमाथि एकपछि अर्को गरी आक्रमण भएपछि नियन्त्रणमा लिइएको बाघ केही दिन पहिले बाँके राष्ट्रिय निकुञ्जमा ल्याएर खोरमा राखिएको हो । चैत ५ गते खाता जैविक मार्ग बर्दियाबाट नियन्त्रणमा लिइएको बाघ डिभिजन वन कार्यालय बर्दियाले त्यही दिन बेलुका निकुञ्जमा ल्याएको हो । त्याे बाघलाई निकुञ्जको खैरी पोस्टकाे खोरमा विशेष निगरानीका साथ राखिएको निकुञ्जले जनाएको छ ।
आर्थिक वर्ष २०७४/०७५ मा निर्माण गरिएको खोर ४० फिट लामो र २१ फिट चौडाइको छ । खोरमा निगरानी गर्न दुई क्यामरा जडान गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।
सोमवार भेटेरिनरी डाक्टरसहितको टोलीले बाघको स्वास्थ्य जाँच गरेको थियो भने आहारासमेत खुवाइएको थियो । सीसी क्यामरामा बाघ बिहान ४:४५ बजेसम्म खोरमै रहेको देखिएको छ । विहान ६ बजेतिर कर्मचारी खोरमा जाँदा बाघ भागेको पाइएको हो ।
बाघ आफ्नाे प्राकृतिक बासस्थानतर्फ गएका कारण अहिले नै त्रसित हुनुपर्ने अवस्था नभएको निकुञ्जले जनाएको छ । ujyaalo