नेपाल जिविकोपार्जन तथा उत्थानशीलता परियोजनाको अर्धवार्षिक समीक्षा तथा समन्वयात्मक बैठक बाबियाचौरमा सम्पन्न भएको छ । कारितास नेपालको आयोजनामा भएको कार्यक्रममा पञ्चपुरी नगरपालिकामा रहेका विभिन्न विषयगत समितिका पदाधिकारीहरू, समाजसेवी संघसंस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । परियोजनाले पञ्चपुरी नगरपालिकाको वडा नम्बर ६ मा कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ ।
परियोजनाले घर बगैंचा खेतीका लागि सामग्री सहयोग, विपन्न वर्गलाई कुखुरापालनका लागि सहयोग, अगुवा कृषकहरूबाट घर बगैचा नमुना प्रदर्शनी सहयोग कार्यक्रम, सामुदायिक नर्सरी व्यवस्थापन गर्न सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यसैगरी बाली उपचार शिविर कार्यक्रम समेत सञ्चालन गरिएको छ । पशु स्वास्थ्य शिविर कार्यक्रम, विषादी सचेतना कार्यक्रम र आइपीएम कार्यक्रम समेत सञ्चालन गरेको छ । परियोजनाले माटो परीक्षण शिविर कार्यक्रम व्यावसायिक शिव विकास तालिम सञ्चालन गर्दै आएको कारितास नेपाल सुर्खेत जिल्ला ईन्चार्ज महेन्द्र चौधरीले जानकारी दिनुभएको छ ।
कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका उपप्रमुख मुक्ति रेग्मीले संस्थाको कार्यक्रम एउटा वडा मात्र सीमित नभई अन्य वडामा पनि विस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ । साथै उहाँले नगरपालिकाको तर्फबाट कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि गर्नुपर्ने भूमिका निरन्तर गर्ने बताउनुभएको छ । संस्थाले गरेका कार्यक्रमहरू र कामहरूमा नगरपालिकाले पनि समन्वय गरेर अघि बढ्ने समेत उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।
