गगन खडका , सुर्खेत ।
स्थानीय सरकारको क्षमता अभिवृद्धिका लागि विपद् जोखिम व्यवस्थापन सम्बन्धी २ दिने तालिम बराहताल गाउँपालिकामा सम्पन्न भएको छ । माघ २४ गते सुरु भएर २५ गतेसम्म सञ्चालन भएको हो । युएसएआईडीको आर्थिक सहयोग मर्सिकोर नेपालको प्राविधिक सहयोगमा सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित भकारी कार्यक्रम अन्तर्गत तालिम बराहताल गाउँपालिकामा सञ्चालन गरिएको हो ।
तालिममा विपद् जोखिम सम्बन्धि नेपाल सरकारको नीतिहरु, स्थानीय विपद् जोखिम व्यवस्थापन ऐन, स्थानीय विपद् जोखिम व्यवस्थापन समितिको काम र कर्तव्यहरु, पूर्व चेतावनी प्रणाली, जोखिमको वित्तीय व्यवस्था, जोखिम हस्तान्तरण संयन्त्र र स्थानीय तहमा विपद् जोखिम व्यवस्थापन कोष सञ्चालन कार्यविधि जस्ता विषयमा सहभागीहरुलाई जानकारी दिइएको हो । सहभागीहरुले सिकाई सँगै गाउँपालिकाको विपद् व्यवस्थापनका लागि कार्य पालिका स्तरीय योजना समेत तयार पारेको छ ।
तालिम समापन कार्यक्रममा बोल्दै बराहताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ललित कुमार थापाले स्थानीय विपद् व्यवस्थापन कोषको व्यवस्था गरिएको र आउन सक्ने विपद् तथा जोखिमका लागि पूर्व तयारीका आवश्यक सामाग्रीकोहरु तयारी अबस्थामा राख्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
साथै उक्त तालिम कार्यक्रमबाट बराहताल गाउपालिकाले आफ्नो क्षेत्र भित्र विपद् बाट हुन सक्ने जोखिमलाई न्युनिकरण गर्दै आफ्नो समुदायको अमुल्य जनजीवन, धन सम्पत्ति तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न मानवीय सिद्धान्त, लैंगिक समानता र सामाजिक समावेशितालाई समेत आत्मसात गर्दै तत्काल विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि १० बुँदे नेपाल विपद् व्यवस्थापन घोषणा पत्र समेत जारी गरेको छ । साथै गाउँपालिकाले प्रतिवद्धाता गरेको १० बुदे पूर्ण रुपमा लागु गर्ने प्रतिवद्धाता जाहेर गर्नुभयो ।
कार्यक्रममा भकारी परियोजनाका अनुगमन तथा मुल्यांकन अधिकृत तपेन्द्र सावदले स्थानीय तहको सहयोग बाट नै जोखिम न्यूनीकरण गर्न सकिने र कार्यक्रम पनि सफल हुन सक्ने र पालिका स्तरमा तयार गरिएको कार्ययोजना पुर्ण रुपमा कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नुभयो । सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित भकारी परियोजना बराहताल गाउँपालिकाका २, ४, ५, ६ र ८ गरी ५ वटा वडाका २३ वटा समुदाय लगायत चौकुने गाउँपालिकाका ५ वडाका १२ समुदाय र पञ्चपुरी नगपालिकाका ४ वटा वडाका १२ समुदाय गरी ३ वटा पालिकाका १४ वटा वडामा ४७ समुदायलाई समेटेर सन् २०२० अक्टोबर देखि परियोजना लागू भएको हो ।
परियोजनाले कृषि, प्राकृतिक विपद् न्युनिकरण, उत्पादनमूलक पानी, लैंगिक समानता र समावेशीकरण, आकस्मिक सहयोगका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत कृष्ण बहादुर रोकाय, गगन खड्काले सहजीकरण गर्नुभएको कार्यक्रममा बराहताल गाउँपालिकाका अध्यक्ष भिम बहादुर भण्डारी, उपाध्यक्ष लक्ष्मी पुन मगर लगायत सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य गाउँपालिका मातहतका कार्यालय प्रमुख तथा प्रतिनिधिहरु, रेडक्रस सोसाइटीका प्रतिनिधि, नेपाल प्रहरी प्रतिनिधिसमितिका प्रतिनिधिहरु लगायत २२ जना सहभागीहरुको सहभागिता रहेको थियो ।