११ माघ, सुर्खेत ।
पञ्चपुरी नगरपालिकाका सबै वडामा रहेका महिला तथा बालबालिका समूह र सञ्जालको क्षमता अभिवृद्धि गरी न्यायमा पहुँच बढाउने उद्देश्य सहित दोस्रो चरणकाे
नगरपालिका स्तरीय परियोजना सल्लाहकार समिति बैठक आज पञ्चपुरीकाे बाबियाचौरमा सम्पन्न भएको छ। आवाज संस्था सुर्खेतको आयोजनामा भएको बैठकमा पञ्चपुरी नगरपालिकामा रहेका विषयगत शाखाका प्रमुख, वडाका जनप्रतिनिधिहरु लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा आवाज संस्थाले दोस्रो चरणमा गर्ने क्रियाकलापको बारेमा कार्यक्रम संयोजक सुशिल कुमार कार्कीले जानकारी दिनुभएको छ। संस्थाले दोस्रो चरण अन्तर्गत पञ्चपुरीका महिला तथा बालबालिकाहरूका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने भएको छ।
समुदाय स्तरमा सचेतना अभियान भित्ते लेखन, सडक नाटक, विद्यालयमा अन्तरक्रिया कार्यक्रम, रेडियो कार्यक्रम गर्ने कार्कीले बताउनुभयाे । कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले आवाज संस्थाले यसअघि गरेका कामहरू राम्रो भएको र आगामी दिनमा दोस्रो चरणका कार्यक्रमहरू सफल पार्नको लागि नगरपालिकाले सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको छ। साथै उहाँले उद्यम गरिरहेका गर्न चाहनेहरूका लागि नगरपालिकाले कृषि क्षेत्रमा विशेष सहयोग गर्ने बताउनुभएको छ।













