पश्चिम सुर्खेतमा विद्युत् अवरुद्ध, सेवाग्राही र व्यापारी मर्कामा

17 पटक हेरिएको

बाबियाचौर, सुर्खेत ।

हावाहुरी र वर्षातका कारण पश्चिम सुर्खेतका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको करिब २४ घण्टा पुग्न लाग्दा पनि विद्युत् आपूर्ति सुचारु हुन सकेको छैन।
लामो समयदेखि विद्युत् सेवा अवरुद्ध हुँदा पश्चिम सुर्खेतका सर्वसाधारण, व्यापारी तथा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका दैनिक कामकाज प्रभावित भएका छन्। विद्युत्मा निर्भर व्यवसाय तथा कार्यालयको काम ठप्पजस्तै हुँदा सेवाग्राहीसमेत समस्यामा परेका छन्।
विद्युत् नहुँदा बजार क्षेत्रमा रहेका पसल तथा व्यवसाय सञ्चालनमा कठिनाइ भएको व्यापारीहरूले बताएका छन्। कम्प्युटर, प्रिन्टर, इन्टरनेट तथा अन्य विद्युतीय उपकरण सञ्चालन गर्न नसक्दा कार्यालयका नियमित कामसमेत प्रभावित भएका छन्।
विद्युत् वितरण केन्द्र, सब–कार्यालय बाबियाचौरका अनुसार हावाहुरी र वर्षातका कारण विद्युत् लाइनमा समस्या आएपछि सेवा अवरुद्ध भएको हो। विद्युत् मर्मतका लागि कर्मचारी तथा प्राविधिकहरू परिचालन गरिएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार कर्मचारीहरू विद्युत् सुचारु गराउन काममा खटिरहेका भए पनि मर्मत कार्य पूरा हुन कति समय लाग्छ र विद्युत् सेवा ठ्याक्कै कहिले सुचारु हुन्छ भन्ने अहिले नै निश्चित भन्न सकिने अवस्था छैन।
विद्युत् सेवा लामो समयसम्म अवरुद्ध हुँदा व्यापार–व्यवसायदेखि कार्यालयका अत्यावश्यक कामसम्म प्रभावित भएको भन्दै स्थानीयले सम्बन्धित निकायसँग मर्मत कार्यलाई तीव्रता दिन आग्रह गरेका छन्।
स्थानीयका अनुसार विद्युत् सेवा तत्काल सुचारु नहुँदा दैनिक जीवनसँगै आर्थिक गतिविधिमा समेत प्रत्यक्ष असर परेको छ। उनीहरूले समस्या समाधान गरी यथाशीघ्र विद्युत् आपूर्ति सुचारु गर्न विद्युत् कार्यालयसँग माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search