१२ भदाै सुर्खेत ।

विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहतका लागि सुर्खेतको विद्याभूमि एकेडेमी पञ्चपुरीले आर्थिक सहयोग संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको छ। गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण विभिन्न जिल्लाका बस्ती तथा त्रिशूली नदी आसपासका क्षेत्रमा भएको जनधनको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै विद्यालय परिवारले राहत रकम संकलन गरेको हो ।
विद्यालयका तर्फबाट १० हजार ४५ रुपैयाँ, शिक्षक तथा विद्यालय कर्मचारीबाट १४ हजार ५५ रुपैयाँ र विद्यार्थीहरूबाट १४ हजार ९ सय ७५ रुपैयाँ गरी कुल ३९ हजार ७५ रुपैयाँ संकलन गरिएको विद्यालयले जनाएको छ।

संकलित रकम विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालय परिवारको सहभागितामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
विद्यालयका प्रिन्सिपल पदमराज रिमालले प्राकृतिक विपत्तिको समयमा सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विपत्तिमा परेका नागरिकको पीडामा मलम लगाउने उद्देश्यले विद्यालय परिवारले स्वेच्छिक रूपमा रकम संकलन गरेको हो । सानो सहयोगले पनि पीडित परिवारलाई राहत पुग्ने विश्वासका साथ हामीले सहयोग गरेका छौँ।”

उहाँले विद्यार्थीहरूलाई पनि सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावना विकास गराउने उद्देश्यले यस्तो सहयोग अभियान सञ्चालन गरिएको बताउनुभयो । विद्यालय परिवारले भविष्यमा पनि विपद् तथा सामाजिक सेवाका क्षेत्रमा आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता जनाएको छ। विद्यालयले मृतकप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना समेत गरेको छ।














