४ साउन, सुर्खेत ।

गोल्डेन फ्युचर एकेडेमी, पञ्चपुरी–५ सुर्खेतको आयोजनामा “Art of Good Parenting (असल अभिभावकत्व)” विषयक प्रेरणादायी कार्यक्रम सम्पन्न भएको छ।
एकेडेमीका प्रिन्सिपल ताराप्रकाश कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पञ्चपुरी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नगेन्द्र बहादुर शाही प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रेरणादायी वक्ता क्षेत्रप्रसाद ज्ञवालीले अभिभावकले बालबालिकाको सर्वाङ्गीण विकासका लागि अपनाउनुपर्ने व्यवहार, सकारात्मक सोच, अनुशासन, नैतिक शिक्षा तथा परिवारभित्रको स्नेहपूर्ण वातावरणको महत्वबारे प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ताराप्रकाश कडेलले विद्यालयले विद्यार्थीको शैक्षिक विकाससँगै अभिभावकलाई समेत सचेत बनाउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले विद्यालय र अभिभावकबीचको सहकार्य बलियो भएमा बालबालिकाको भविष्य उज्ज्वल बन्ने विश्वास व्यक्त गर्नुभयो।
प्रमुख अतिथि वडा अध्यक्ष नगेन्द्र बहादुर शाहीले असल समाज निर्माणका लागि असल अभिभावकत्व अपरिहार्य रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “बालबालिकालाई राम्रो संस्कार, अनुशासन र नैतिक शिक्षा दिन परिवारको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ। यस्ता सचेतनामूलक कार्यक्रमले अभिभावकलाई नयाँ सोच र सकारात्मक ऊर्जा प्रदान गर्छ। गोल्डेन फ्युचर एकेडेमीले गरेको यो प्रयास प्रशंसनीय छ र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्छ।”

कार्यक्रममा अभिभावक, शिक्षक तथा स्थानीय सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रम निकै उपयोगी र प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए।













