पञ्चपुरीको पलैटेमा आँखा उपचार सेवा सुरु

११ बैशाख सुर्खेत
सुर्खेत पञ्चपुरी नगरपालिकामा पहिलो पटक व्यवस्थित आँखा उपचार सेवा सञ्चालनमा आएको छ । पञ्चपुरी २ को पलैटेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा सञ्चालनमा आएको हो । एक कार्यक्रमका बीच नगरप्रमुख तथा स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा आँखा उपचार सेवा केन्द्रको औपचारिक उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख लालबीर भण्डारीले स्थानीय नागरिकलाई सामान्य आँखा समस्याका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ । अब पञ्चपुरीका बासिन्दाले आफ्नै नगरभित्रै आँखा जाँच तथा उपचार सेवा पाउने भएका छन्, यसले स्वास्थ्य सेवामा सहजता थप्नेछ, उहाले भन्नुभयो ।
नयाँ सञ्चालनमा आएको सेवा अन्तर्गत आँखा परीक्षण, औषधि वितरण, सामान्य रोगको उपचार तथा आवश्यक परेमा थप उपचारका लागि सिफारिस सेवा उपलब्ध गराइने जनाइएको छ । विशेषगरी ज्येष्ठ नागरिक, विद्यार्थी तथा विपन्न वर्गलाई लक्षित गरी सेवा प्रभावकारी बनाइने योजना रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
कार्यक्रममा स्वास्थ्यकर्मीहरूले आँखाको स्वास्थ्यप्रति सचेत रहन, समयमै परीक्षण गराउन र आवश्यक परामर्श लिन आग्रह गरेका थिए । स्थानीय बासिन्दाहरूले पनि आफ्नै क्षेत्रमा यस्तो सेवा सुरु भएकोमा खुशी व्यक्त गर्दै दीर्घकालीन रूपमा सेवा निरन्तर रहोस् भन्ने अपेक्षा राखेका छन् ।
पञ्चपुरीमा आँखा उपचार सेवा सञ्चालनमा आएसँगै बराहताल, पञ्चपुरी, चौकुने लगाएतका नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...