पञ्चपुरीमा पालिका स्तरीय ७ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु

१० बैशाख सुर्खेत
सुर्खेतको पञ्चपुरी नगरपालिकामा पालिका स्तरीय ७ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता औपचारिक रूपमा उद्घाटन गरिएको छ । पञ्चपुरी १० मा रहेको जनज्योती माध्यमिक बिद्यालयको आयोजना तथा पञ्चपुरी नगरपालिकाको सहयोगमा खेलकुदमार्फत विद्यार्थीहरूमा अनुशासन, नेतृत्व विकास र स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको हो ।
कार्यक्रमको उद्घाटन पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीद्वारा गरिएको थियो । उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख भण्डारीले खेलकुदले शारीरिक मात्र नभई मानसिक विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता प्रतियोगिताले प्रतिभावान खेलाडी उत्पादन गर्न टेवा पुग्ने धारणा व्यक्त गर्नुभएको छ ।
प्रतियोगितामा नगरपालिका भित्र रहेका माध्यमिक बिद्यालय मध्य ७ ओटा माद्यामिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ । दौड, भलिबल, कबड्डी, लङजम्प, हाइजम्प लगायत विभिन्न खेल विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो । प्रतियोगिता भोलिसम्म सञ्चालन हुने र समापनमा उत्कृष्ट खेलाडी तथा विद्यालयलाई पुरस्कार वितरण गरिने बताइएको छ । यस प्रकारका खेलकुद गतिविधिले स्थानीय स्तरमै खेल प्रतिभा पहिचान र प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...