७ बैशाख, सुर्खेत
सुर्खेतको पञ्चपुरी नगरपालिकामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी नीति निर्माण कार्यशाला गोष्ठी आज देखि सुरु भएको छ । नगरपालिकाको आयोजना ओरेक नेपालकाे प्राबिधिक र कारितास नेपालको सहकार्यमा आयोजित उक्त गोष्ठीमा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यशालामा नगरप्रमुख, वडाध्यक्षहरू, कर्मचारी, महिला तथा दलित समुदायका प्रतिनिधि, अपाङ्गता भएका व्यक्तिहरू, युवा तथा नागरिक समाजका अगुवाहरू सहभागी रहेको छ । कार्यक्रममा लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई स्थानीय तहको नीति तथा योजनामा प्रभावकारी रूपमा समेट्ने विषयमा विस्तृत छलफल गरिएको हो ।
गोष्ठीमा प्रस्तुतकर्ताहरूले लैङ्गिक विभेद, सामाजिक बहिष्करण, सेवा पहुँचमा देखिएका चुनौतीहरू र ती समस्याहरू समाधान गर्न आवश्यक नीतिगत उपायहरूबारे प्रकाश पारेका थिए । सहभागीहरूले आफ्नो अनुभव, समस्या तथा सुझाव राख्दै समावेशी नीति निर्माणको आवश्यकतामा जोड दिएका छन ।
कार्यक्रममा नगर प्रमुख लालबीर भण्डारीले समावेशी विकास बिना दिगो विकास सम्भव नहुने उल्लेख गर्दै, स्थानीय तहले सबै वर्ग र समुदायलाई समान अवसर सुनिश्चित गर्ने बताउनुभएको छ । साथै भण्डारीले नीति निर्माणमा महिलाहरू, दलित, जनजाति, अपाङ्गता भएका व्यक्तिहरू तथा विपन्न वर्गको अर्थपूर्ण सहभागिता अनिवार्य रहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यशालामा पञ्चपुरी नगरपालिकाले चाँडै नै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी नीति निर्माण गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएको छ । साथै, आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै समावेशी शासन प्रणाली सुदृढ बनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । कार्यक्रम सहभागीहरूले यस्ता गोष्ठीले नीति निर्माण प्रक्रियामा सबैको आवाज समेट्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।














