दरबार हत्याकाण्ड भएको आज २४औँ वर्ष पुरा

काठमाडौँ । तत्कालीन राजा वीरेन्द्र शाहसहित राजपरिवारका सदस्यहरूको नारायणहिटी राजदरबारमा हत्या भएको आज २४ वर्ष पुरा भएको छ । विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा भएको एक पारिवारिक भोजका क्रममा यो हृदयविदारक घटना भएको थियो। उक्त घटनामा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, तथा राजपरिवारका अन्य सदस्यहरू शान्ति, श्रद्धा, जयन्ती, र श्रद्धाका पति कुमार खड्गविक्रम शाहको निधन भएको थियो ।

घटनापछि अर्धचेत अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिए पनि उनको पनि २०५८ जेठ २२ गते निधन भएको थियो। दीपेन्द्र उपचाररत रहेका बेला तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको थियो, र दीपेन्द्रको निधनपछि ज्ञानेन्द्रलाई नै राजा घोषणा गरिएको थियो।

घटनाको छानबिनका लागि तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको दुई सदस्यीय समिति गठन गरिएको थियो। उक्त समितिले दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको प्रतिवेदन दिए पनि आम नेपाली जनताले उक्त प्रतिवेदनलाई पूर्ण रूपमा स्वीकार गरेका छैनन्।

पूर्वराजा वीरेन्द्रको परिवार मारिएको सम्झनामा आज विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाइँदै छ। यसै सन्दर्भमा योगी नरहरिनाथ आध्यात्मिक परिषद्ले आज जावलाखेलस्थित पूर्वराजा वीरेन्द्रको सालिकमा माल्यार्पणसहित श्रद्धाञ्जलि सभा आयोजना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...