२९ माघ, सुर्खेत ।
सुर्खेतको पञ्चपुरी नगरपालिकामा विद्यालय स्तरीय विज्ञान प्रदर्शनी आज सम्पन्न भएको छ । विद्याज्योति माध्यमिक विद्यालय पञ्चपुरी ५ को सुर्खेतको आयोजना पञ्चपुरी नगरपालिकाको सहयोगमा विज्ञान प्रदर्शनी गरिएको हो । विद्यालयको प्राङ्गणमा भएको प्रतियोगितामा नगरपालिका भित्र रहेका आधारभूत विद्यालय र माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो ।
प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै नगरपालिकाका प्रमुख लालवीर भण्डारीले विज्ञान प्रदर्शनीले बालबालिकाको क्षमता विकासमा थप सहज हुने र यसलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ । साथै भण्डारीले माध्यमिक तहका विद्यालयहरूमा डिजिटल प्रविधिबाट पढाइ सञ्चालन गर्नको लागि आगामी वर्षबाट सुरुवात गर्ने बताउनुभएको छ ।


त्यसैगरी कार्यक्रमका विशेष अतिथि पञ्चपुरी नगरपालिका उपप्रमुख मुक्ति रेग्मीले विज्ञान प्रदर्शनीले एक अर्का विद्यालयले गरेको कामको अनुभव सिकाई आदान प्रदान हुने भएको हुँदा यसले पढाइमा पनि थप सजिलो बनाउने बताउनुभएको छ । कार्यक्रममा आधारभूत विद्यालयतर्फ विद्याज्योति माध्यमिक विद्यालय बाबियाचौर प्रथम, मोडेल भिजन एकेडेमी पलैटे दोस्रो सूर्य प्रकाश माध्यमिक विद्यालय पलैटे तेस्रो र नेपाल राष्ट्रिय आधारभूत विद्यालय तोक्मा सान्त्वना भएका छन् । त्यसैगरी माध्यमिक विद्यालयतर्फ जनता माध्यमिक विद्यालय विद्यापुर प्रथम, विद्याज्योति माध्यमिक विद्यालय बाबियाचौर दोस्रो विद्याभूमि एकेडेमी बाबियाचौर तेस्रो र सूर्यप्रकाश माध्यमिक विद्यालय पलैटे सान्त्वना भएका छन् ।
विजेताहरूलाई नगद प्रमाणपत्र समेत प्रदान गरिएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोकेन्द्र रावलको अध्यक्षतामा सम्पन्न भएको हो ।












