८ मंसिर, सुर्खेत ।
पञ्चपुरीको वडा नम्बर ५ मा रहेको विद्याज्योति माध्यमिक विद्यालयमा आज कक्षा १ देखि ५ सम्मका बालबालिकाहरूलाई स्वीटर वितरण गरिएको छ । विद्यालयले पाँच कक्षासम्म अध्ययनरत विद्यार्थीका अभिभावक हरुको उपस्थितिमा स्विटर वितरण गरेको हो ।
स्विटर वितरण कार्यक्रममा पञ्चपुरी वडा नम्बर ५ का अध्यक्ष नगेन्द्रबहादुर शाहीले विद्यालयले बालबालिकाहरूको लागि गरेको काम प्रशंसनीय रहेको र आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई वडा तथा नगरस्तरबाट पनि समेट्न प्रयास गर्ने बताउनुभएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक द्रोणराज पाठकले बालबालिकाको लागि विद्यालयले राम्रा अभ्यास गरेको र यसको लागि अभिभावकले आफ्नो बालबालिकाको लागि चासो दिन आवश्यक रहेको बताउनुभएको छ ।

त्यसैगरी कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र रावलले विद्यालयप्रति अभिभावकले बेलाबेला निगरानी गर्नुपर्ने र सल्लाह सुझाव दिनुपर्ने बताउनुभएको छ विद्यालयमा अध्ययनरत २०० भन्दा बढी बालबालिकाहरूलाई स्विटर वितरण गरिएको हो ।
