महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतमा दुईजना धामी र एक पुजारी लाई पक्राउ गरेको छ ।
लेकवेशी नगरपालिका–४ दशरथपुरमा ज्ञवाली परिवारको कुल पूजामा आएकी बाँके खजुराकी महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भुपेन्द्र ज्ञवाली, वडा नम्बर–७ का ३९ बर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का १९ मिलन ज्ञवालीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार उनीहरुलाई सामाजिक अपराध गरेको आरोपमा पक्राउ गरिएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको प्रहरी निरीक्षक शाहीले बताए ।
सोमबार साँझ फेसबुकमा सार्वजनिक भएको एक भिडियोमा केही पुरुषले आफूलाई ‘भगवानको अवतार’का रुपमा प्रस्तुत गर्दै एक महिलामाथि कुटपिट र दुर्व्यवहार गरेका थिए ।
मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को कर्णाली प्रदेशका प्रमुख नारायण सुवेदीले यो घटनालाई गम्भीर ज्यादती भनेका छन् ।