परिलक्षित संस्थाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतको समन्वय र पिपल्स एक्सेस नेपालको आयोजनामा मिडियामा अपाङ्गताका सवाल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका सहजकर्ता राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका अध्यक्ष बिष्णु प्रसाद शर्माले अपाङ्गताका सवालहरुलाई मिडियाले प्राथमिकता दिनुपर्ने र यसमा मिडियाको भूमिका महत्वपूर्ण हुनुपर्ने बताएका छन् । उनले अपाङ्गता सवाल, कानुनी आधार, सामाजिक अवस्था, स्थानीय तह र प्रदेश सरकारले गर्नुपर्ने कामबारे प्रष्ट पारेका थिए ।
यस्तै भेरीगंगा नगरपालिकाको महिला तथा बालबालिका शाखाकी लक्ष्मी सुवेदी र गुर्भाकोट नगरपालिकाको महिला तथा बालबालिका शाखाकी ललिता चौधरीले आफ्नो शाखाले गरेका काम र प्रगतिबारे जानकारी गराएकी थिईन । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका सचिव ललितबहादुर बुढाले मिडियाले अपाङ्गता सम्बन्धि संवैधानिक अधिकार, अपाङ्गतामैत्री राज्यका संरचना भए वा नभएको, अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुँच, सामाजिक व्यवहार, परिचय पत्र वितरणमा देखिएका बेथिति, शिक्षामा पहुँच र अपाङ्गता भएका व्यक्तिहरुको योजना छनौटमा सहभागिता भए वा नभएकोबारे सवालहरु उठाउनुपर्ने बताए ।
यस्तै पिपल्स एक्सेस नेपालका कार्यक्रम संयोजक युवराज पंगालीले कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै कार्यक्रम आयोजना गर्नुको उदेश्यबारे जानकारी दिएका थिए । कार्यक्रममा पत्रकारहरुले अपाङ्गताबारे धेरै विषयहरु जानकारी भएको र यो कार्यक्रमले आगामी दिनमा अपाङ्गताको क्षेत्रमा कलम चलाउन सहज भएको बताए । साथै उनीहरुले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने भन्दै अपाङ्गता मुद्दा र सवालबारे ज्ञान प्राप्त भएकाले अब समाचार लेखनमा पनि सहयोग पुगेको भन्दै आयोजक संस्थालाई धन्यवाद दिए । कार्यक्रम पिपल्स एक्सेस नेपालकी अध्यक्ष सिता आचार्यको प्रमुख अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतका सचिव ललित वुढाले गरेका थिए ।