२२ मंसिर, सुर्खेत ।
नेपाल जीविकोपार्जन तथा उत्थानशीलता कार्यक्रम २ अन्तर्गत पालिका स्तरीय समन्वयात्मक बैठक आज बाबियाचौरमा सम्पन्न भएको छ । अस्ट्रेलियन एड कारितास अस्ट्रेलियाको सहयोग तथा कारितास नेपालद्धारा सञ्चालन भएको कार्यक्रमको आज जानकारी दिइएको हो । पञ्चपुरी नगरपालिकामा भएका सरोकारवाला निकायहरूको सहभागितामा भएको कार्यक्रममा परियोजनाको बारेमा जानकारी र आगामी योजनाको बारेमा समेत छलफल गरिएको छ ।
कार्यक्रमका सहभागीहरुले कृषकहरूको लागि संस्थाले अन्य वडाहरुमा पनि कार्यक्रम विस्तार गर्न आवश्यक रहेको बताएका छन् । परियोजनाले यसअघिदेखि नै पञ्चपुरीको वडा नम्बर ६ मा कृषकहरूसँग आयआर्जनदेखि बालबालिकासँग क्षमता विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ । आज भएको छलफलमा परियोजनाले वडा नम्बर ४,५ र ८ मा कार्यक्षेत्र विस्तार गरी काम गर्ने विषयमा समेत छलफल भएको छ । कार्यक्रममा परियोजनाका संयोजक महेन्द्र चौधरीले सरोकारवालाहरुले गरेको सहयोग सकारात्मक रहेको र सल्लाह सुझावलाई आगामी दिनमा ग्रहण गर्दै काम गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।












