२० मंसिर, सुर्खेत ।
विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका स्वस्थ समाज निर्माणमा सहभागिता भन्ने नारा सहित २१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस आज बाबियाचौरमा मनाइएको छ । पञ्चपुरी नगरपालिका नगरकार्यपालिकाको कार्यालय स्वास्थ्य तथा सामाजिक विकास शाखा बाबियाचौरको आयोजनामा कार्यक्रम गरिएको हो ।
प्रत्येक वर्ष डिसेम्बर ५ तारिखमा मनाइने स्वास्थ्य स्वयंसेविका दिवस आज ¥याली सहित बजार परिक्रमा गरी विभिन्न कार्यक्रमका साथ मनाइएको छ । कार्यक्रममा नगरपालिकाभित्र रहेका प्रत्येक वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा प्रत्येक वडामा रहेका स्वास्थ्य स्वयंसेविकाहरूबीच कुर्ची दौड प्रतियोगिता समेत गरिएको छ ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा सामाजिक विकास शाखा संयोजक एवं वडा नं २ का अध्यक्ष यामबहादुर बिसीले स्वास्थ्य स्वयंसेविकाहरूले समुदायमा स्वास्थ्यका क्षेत्रमा गरेको काम प्रशंसायोग्य रहेको र यसको लागि नगरपालिकाले सधैं सम्मान गरेको समेत बताउनुभएको छ । साथै उहाँले स्वास्थ्य स्वयंसेविकाहरूको कामलाई मध्यनजर गर्दै नगरपालिकाले यसअघिदेखि नै प्रोत्साहनका कार्यक्रमहरू गर्दै आएको बताउनुभएको छ । स्वास्थ्य मानिसको अति आवश्यक कुरा भएको हुँदा स्वयंसेविकाहरूले अझै थप सक्रियताका साथ काम गर्न समेत उहाँले आग्रह गर्नुभएको छ । कार्यक्रममा स्वास्थ्य स्वयंसेविका स्वास्थ्य शाखाका कर्मचारी, वडा अध्यक्ष तथा प्रहरीको समेत सहभागिता रहेको थियो ।
