११ मंसिर, सुर्खेत ।
पञ्चपुरी खेलकुद विकास समितिको आयोजनामा आजदेखि बाबियाचौरमा पाँचौं पञ्चपुरी मेयरकप फुटबल प्रतियोगिता तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । आजदेखि सुरु भएको प्रतियोगितामा भलिबलतर्फ सातवटा टिम र फुटबलतर्फ ११ वटा टिमको सहभागिता रहेको छ ।
कार्यक्रमको उद्घाटनमा बोल्दै पञ्चपुरी नगरपालिकाका उपप्रमुख मुक्ति रेग्मीले खेलकुद विकासको लागि नगरपालिकाले निरन्तर काम गरिरहेको र आगामी दिनमा महिलाहरूलाई पनि खेलमा सहभागी गराउन विभिन्न खेलको आयोजना गर्ने बताउनुभएको छ । साथै उहाँले वडा स्तरमा खेलकुद सञ्चालन गर्नको लागि मैदान अभाव भएको हुँदा आगामी दिनमा यसलाई पनि योजनामा समावेश गरिने बताउनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले इमान्दारिताका साथ खेल खेल्न खेलाडीहरुलाई आग्रह गर्नुभएको छ । साथै उहाँले सुर्खेतमा सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुदका केही खेलहरू पञ्चपुरीमा सञ्चालन गर्नको लागि पहल भइरहेको समेत बताउनुभएको छ । आज भएको उद्घाटन खेलमा पञ्चपुरी नगरपालिका वडा नम्बर ७ र वडा नम्बर ९ बीचको फुटबल खेलमा वडा नम्बर ७ लाई ० का विरुद्ध २ गाेल गर्दै वडा नम्बर ९ ले जित हाँसिल गरेको छ ।