कर्णालीका तीन जिल्लामा मङ्गलवारसम्ममा मतपेटिका सङ्कलन हुने भएको छ । हुम्ला, मुगु र डोल्पामा भोलि मङ्गलवारसम्म मतपेटिका जिल्ला सदरमुकाममा आइपुग्ने भएको हो । मत सङ्कलन भएपछि मात्रै मतगणना सुरु हुनेछ ।
सुर्खेतको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जाजरकोटमा आज बेलुका र रुकुम पश्चिममा दिउँसोसम्म मतपेटिका सङ्कलन हुने जानकारी दिनुभयो ।
माथिल्लो कर्णालीका तीन जिल्लाबाट आजै मतपेटिका जिल्ला आउने अवस्था नरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार कर्णालीका सुर्खेत, जुम्ला र सल्यान, दैलेख र कालीकोटमा मतगणनाका लागि सर्वदलीय बैठक बस्दैछ । हुम्लाको उत्तरी भेग र डोल्पाको माथिल्लो क्षेत्रको मतपेटिका सङ्लनका लागि हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था छ ।
हुम्ला जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी श्याम रानाले नाम्खा गाउँपालिको हल्दीदाङ, तिल, सर्केगाड, चङ्गेली, ताँजाकोट र अदानचुली गाउँपालिकाबाट मतपेटिका आइनपुगेकाले हेलिकप्टर माग गरिएको जानकारी दिनुभयो ।