७ कार्तिक, सुर्खेत ।
पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा सञ्चालन भएको पाँचौं बाबियाचौर फुटबल प्रतियोगिताको उपाधि आयोजक बाबियाचौर स्पोर्ट्स क्लबले हात पारेको छ । कार्तिक २ गतेदेखि सञ्चालन भएको फुटबल प्रतियोगिताको आज फाइनल खेल संचालन भएको हो ।
बराहताल गाउँपालिका वडा नम्बर ५ को सफलता युवा क्लब बडीचौर र आयोजक बाबियाचौर स्पोर्ट्स क्लब बीचको फाइनल खेलमा आयोजक बाबियाचौर स्पोर्ट्स क्लबले १ का विरुद्ध ४ गोल गर्दै उपाधि चुमेको हो । प्रतियोगितामा सफलता युवा क्लब बड्डीचौर दोस्रो भएको छ ।

खेलकुद कार्यक्रमको समापनमा बोल्दै पञ्चपुरी नगरपालिका नगरप्रमुख लालवीर भण्डारीले खेलाडीहरुलाई धन्यवाद दिँदै सफलतापूर्वक खेल सम्पन्न गरेकोमा बधाई समेत दिनुभएको छ ।
खेलमा आयोजक बाबियाचौर स्पोर्ट्स क्लबले ४ लाख ५५१ र उपविजेता सफलता युवा क्लबले २ लाख ५५१ रुपैयाँ पुरस्कार हात पारेको छ । खेल सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोगी विभिन्न निकायहरूलाई सम्मान समेत गरिएको छ । कार्यक्रम क्लबका अध्यक्ष वीरेन्द्र रावलको अध्यक्षतामा सम्पन्न भएको हो ।
